उद्योगी भन्छन्- सेजमा भाडा अत्याधिक महंगो भयो, उद्योग चलाउनै सकिँदैन



काठमाडौं । सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज) सिमरामा भाडादर बढी भएको भन्दै उद्योगीहरुले भाडादर नघटाए उद्योग सञ्चालन नगर्ने चेतावनी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनोमिक पोलिसी इन्क्वेडर युके एडले सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगीहरु भाडा अत्यधिक भएकाले उद्योग खोल्न नसकिने बताए ।

सेजमा उद्योग खोज्नका लागि हाल तोकिएको भाडा प्रतिस्क्वायर फिट २० रुपैयाँ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका औद्योगिक समितिका सभापति अञ्जन श्रेष्ठले सेजमा जाने उद्योगीलाई ५ रुपैयाँ भाडा लिनु भन्दा पनि केही समयका लागि पूर्णरुपमा छुट दिने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

उनले बढी भाडा धान्न नसक्ने भन्दै छुटको विषयमा छलफल गर्न सरोकारवालालाई आग्रह गरेका छन् ।

व्यवसायीले अब सरकारसँग लगानीभन्दा पनि वातावरण बनाइदिन आग्रह गर्नुपर्ने बताए । सरकारले ऐन ल्याउने तर नियमावली नल्याउने, नियमावली ल्याए पनि कार्यान्वयन नगर्ने अवस्था रहेको भन्दै लगानीकर्ताका लागि कम्पिटेटिभ वातावरण निर्माण गर्न माग गरेका छन् ।

आगामी दिनमा उद्योगमा बजेट अभाव भएको खण्डमा त्यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा पनि समयमा नै ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल तयारी पोसाक संघका अध्यक्ष चण्डिप्रसाद अर्याललगायत सम्पूर्ण वक्ताहरुले भाडा महंगो भएको भन्दै घटाउन सुझाव दिएका छन् ।

सरकारले सेजलाई प्राथमिकतामा राखेको हो भने पहिलो काम भाडा घटाएर सुरु गर्नुपर्ने उनको तर्क छ ।

उनले भने ‘अहिले ३ देखि ५ रुपैयाँ भाडा राखौं, उद्योगीले एक अर्बभन्दा बढीको निर्यात गर्ने क्षमता राखेपछि भाडा बढाउँदा राम्रो हुन्छ, अहिलेको भाडादर निकै मंहगो भयो ।’

अहिले गार्मेन्ट व्यवसायीहरु सेजमा जान तयार भए पनि भाडा दर बढी भएकोले अन्योलता सिर्जना भएको उनको भनाइ छ ।

अन्य उद्योगीहरुले भने भाडालाई २० रुपैयाँबाट घटाएर ३ देखि ५ रुपैयाँ कामय गर्न माग गरेका छन् । अन्यत्र पाउनेभन्दा ३ गुणाभन्दा बढी भाडा सेजले लिन खोजेको उनीहरुको आरोप छ ।

गार्मेन्ट उद्योगलाई चाहिने कच्चापदार्थ सबै आयात गर्नुपर्ने भएकाले नेपालमा नै आवश्यक कच्चा पदार्थ उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने ‘हामीसँग कच्चापदार्थ नभएकाले हामी उद्योगी नै भएनौ सबै कच्चापदार्थ आयात गर्नुपर्ने बाध्यता छ ।’

अरुको भरका गार्मेन्ट उद्योग चलाउँदै जाने हो भने कुनै दिन सबै गार्मेन्ट उद्योग कोल्याप्स हुने अवस्थामा पुग्ने अर्यालको तर्क छ ।

सेज सञ्चालनमा ल्याउँदा सबै सेवालाई एकद्वार प्रणालीमार्फत ल्याउन सकेको खण्डमा विदेशी लगानी आउने सम्भावना पनि रहेको उनको बुझाइ रहेको छ ।

उनले उद्योगीलाई प्याकेजमा सहुलियत दिन समेत आग्रह गरेका छन् ।

अध्यक्ष अर्यालले बैंकहरुले गर्ने लगानीको १० प्रतिशत निर्यातजन्य उद्योगमा लगानी गर्ने बाध्यकारी नीति ल्याउन आवश्यक रहेको बताए ।

अहिले बैंकहरुले घर जग्गामा बढी लगानी गर्ने गरेको भन्दै निर्यातजन्य उद्योगमा लगानी गरेको खण्डमा उद्योगी र देशको पनि हित हुने उनको तर्क छ ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अहिले सेजले उल्लेख गरेको भाडा तिर्ने हो भने मासिक १ लाख ३५ हजार ५०१ रुपैयाँ भाडा पर्ने बताए ।

उनले भने ‘अहिले नै तराइमा जाने हो भने मासिक १ लाख ३५ हजार ५०१ रुपैयाँ भाडा तिर्ने ठाँउ बाहिर ४० हजारको हाराहारीमा पाइन्छ, यति धेरै भाडा तिर्न सकिँदैन, सरकारले गार्मेन्ट उद्योग फस्टाएको हेर्न चाहेको हो र निर्यात बढाउन खोजेको हो भने भाडा बढीमा ५ रुपैयाँ भित्रमा हुनुपर्छ ।’

सिमरामा रहेको सेजमा बाहिरका उद्योग त्यहाँ जानका लागि राज्यले आवश्यक पहल कदमी अनुदान दिन आवश्यक रहेको बताए ।

उनले भने ‘त्यहाँ उद्योग खुल्ने सम्भावना छैन, भएकाले कि शाखा लैजाने हो, कि उद्योग नै लैजाने हो, त्यसको लागि राज्यले कुनै अनुदान नदिने हो भने उद्योगी आफै जाने सम्भावना बारे यसै भन्न सकिँदैन ।’

उनले सेजमा उद्योगहरु गएपछि त्यहाँबाट हुने मार्केटिङका विषयमा पनि ध्यान दिनुपर्ने तर्क राखे । मार्केटिङ गर्दा चीनभन्दा पनि भारत, बंगलादेशलाई फोकस गर्न सकेको खण्डमा प्रभावकारी हुने तर्क राखे । अहिले भएका उद्योगमा पनि कर्मचारी अभाव रहेको उनको भनाइ छ ।

उनले भने ‘अहिले हामीले बंगलादेशका कामदार राखेका छौं, तर उनीहरुलाई भारतीय भनेका छौं, बंगलादेशी भन्यो भने प्रहरीले लगेर थुन्छ, फेरि हामी कामदार छुटाँउदा हैरानमा पर्छौ ।’ सेजमा गएपछि यो समस्या समाधान कसरी गर्ने भन्ने अहिले नै टुंगोमा पुग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा तयारी पोशाक संघका उपाध्यक्ष इमानसिंह लामाले सेजमा बनेको भैतिक पूर्वाधार कति उद्योगमैत्री छ ? भन्दै प्रश्न गरेका छन् ।
सेजमा जान चाहने गार्मेन्टहरुसँग सम्बन्धित कार्टुन, पीपी फ्याक्ट्री, वासिङ फ्याक्ट्री पनि सँगै चाहिने उनको भनाइ छ । यी फ्याक्ट्री नभइ सेजमा गाम्रेन्ट जानुको कुनै औचित्य नहुने लामाको तर्क छ ।

अहिले सेजमा रहेको उद्योगहरुले ६० प्रतिशत अनिवार्य रुपमा निर्यात गर्नैपर्ने बाध्यकारी निती लिएको भन्दै यस्तो नीति लिन नहुने उनको तर्कछ ।

उद्योगले बढी भन्दा बढी निर्यात गर्ने तर निर्यात नभएको खण्डमा आन्तरिक बजारमा उत्पादन प्रयोग भएको खण्डमा आयात घटाउने भएकाले आयात घटाउनु पनि निर्यात गरे बराबर नै हुने लामाको भनाइ छ ।

उनले भने ‘निर्यातमा जोड दिनुपर्छ तर आन्तरिक बजारमा खपत भयो भने आयात पनि कम हुन्छ, त्यसले राज्यलाई १३ प्रतिशत भ्याट पनि आउँछ भने किन ६० प्रतिशतमा अडकिने ।’

कार्यक्रममा पुर्व उद्योग सचिव पुरुषोत्तम ओझाले नेपालमा बाहिरी लगानी, प्रविधि भित्र्याउनका लागि सेज महत्वपूर्ण हुने बताए ।

सेजमा आउने उद्योगहरुको भाडा विशेष आर्थिक क्षेत्र प्राधिकरणले ऐनमा नै राख्नु भन्दा पनि बजारमा चलेको भन्दा कम नै हुनुपर्ने धारणा राखेका छन् । उनले यस्तो उद्योगको उत्पादनको बारेमा सम्बन्धित देशको दूतावास मार्फत प्रचार प्रसारमा पनि ध्यान दिनुपर्ने बताए ।

अर्का पूर्व सचिव बिमल वाग्लेले सेज जहिले पनि निजी क्षेत्र मैत्री हुनुपर्ने बताए । अहिले सेजमा नआएका गार्मेन्टले बाहिर नै रहेर पनि ६० प्रतिशत भन्दा बढी निर्यात गरेका छन भने त्यस्ता गार्मेन्ट सेजमा आएको खण्डमा कस्तो अनुदान दिने भन्नेमा पनि प्रस्ट हुनुपर्ने बताए ।

सेजमा पनि लगानीमैत्री वाताबरण हुनेपर्ने र अप्रेसनमा गएपछि कुनै पनि अवरोध हुन नहुने उनको तर्क छ ।

सेजमा गएपछि विद्युतको समस्या हुने, स्थानीयले अवरोध गर्ने जस्तो समस्या हुन्छ भने पहिला नै समाधान गर्नुपर्ने धारणा राखे । उनले फरक प्रसंगमा बैंकहरुले प्रोजेक्ट लोन दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा बिक्रम थापाले बैंकको ब्याजदर यति मात्रै हुन्छ भनेर निर्धारण गर्नुपर्ने समय आएको बताए । उनले फरक सन्दर्भमा सरकारले बेरोजगार युवालाई भत्ता दिनु भन्दा पनि तामिल दिन आवश्यक रहेको बताए ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टले व्यापार घाटा कम गर्न, निर्यात बढाउन, विदेशी पूँजी र प्रविधि भित्र्याउन, रोजगारी सिर्जना गर्न सेज आवश्यक रहेको बताए । उनले सेजमा गार्मेन्टलाई सघाउ पुग्ने अन्य उद्योग हुनै पर्ने बाध्यकारी अवस्था नरहेको बताए ।


क्लिकमान्डु