अर्थमन्त्रीको सहकारी मोहः ७५ प्रतिशतसम्म आयकर छुट



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई छुटैछुटको उपहार दिएका छन् । बजेटमार्फत् खतिवडाले सहकारीलाई ७५ प्रतिशतसम्म आयाकर छुट दिएका हुन् ।

अर्थतन्त्रका ३ खम्बामध्ये एक खम्बाको रुपमा सहकारीलाई अघि बढाउन मूख्य भूमिका खेलेको बापन्थी शक्तिले आफू सत्तामा आएपछि कर छुटको उपहार दिएको हो ।

कृषि तथा वन पैदावारमा आधारित सहकारी (नेपालभर जहाँ भए पनि) र गाउँपालिका क्षेत्रमा सञ्चालित सहकारीलाई आय कर नलाग्ने व्यवस्था गरिएको छ ।

त्यसतै, सरकारले नगरपालिकामा सञ्चालित सहकारीका लागि आय करमा ५ प्रतिशत मात्रै व्यवस्था गरेको छ ।

त्यस्तै, महानगरपालिका, उपमहानगरपालिमा सञ्चालित सहकारीले आयकर १० प्रतिशत मात्रै बुझाए पग्ने व्यवस्था भएको हो ।

आन्तरिक राजस्व विभागले परिभाषा समेत परिर्वतन गर्दै ‘बचत तथा ऋण सहकारी’ भन्ने शब्द हटाइ ‘वित्तीय कारोबार गर्ने सहकारी’ बनाएको छ ।

आय कर ऐन २०५८ को अनुसूचि १ को दफा २ को उपदफा ३ को खण्ड (ख)को प्रकरण (३) मा संशोधन गरी महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था वा संघलाई १० प्रतिशत र नगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था वा संघलाई ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको हो ।

यस अगाडि संशोधित सहकारी ऐन, २०७४ वमोजिम दर्ता भई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रमा सञ्चालन भएका बचत तथा ऋण सहकारी संस्था वा संघलार्ई साविकमा २० प्रतिशत आयकर लाग्दै आएको थियो ।


क्लिकमान्डु