बजेटमा खुलेरै स्वागत गरेको निजी क्षेत्र, करको ऐनपछि अर्थमन्त्रीसँग रिसले चुर भयो



काठमाडौं । बजेटलाई स्वागत जनाएको निजी क्षेत्र आर्थिक ऐनको विषयमा भने फरक धारणा बाहिर ल्याएको छ ।

नेपाल उद्योग परिसंघले बजेटपछि विज्ञप्ती जारी गर्दै उद्योगको उत्पादन बढाउने खालको बजेट आएको टिप्पणी गरेको थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोरले बजेटमा भएका व्यवस्थाहरुले स्वदेशी उद्योगीलाई बढाउन मद्दत पुग्ने बताए ।

‘करका दरहरुमा गरिएको परिवर्तनले भने कसैलाई राम्रो हुन्छ, कसैलाई नराम्रो, समग्रमा उद्योगमैत्री नै करका नीतिहरु यो पटक बनाउन खोजिएको छ,’ मोरले भने ।

बजेटमा स्वागत गरेपनि आर्थिक विधेयकपछि चेम्बर अफ कमर्शले भने यसले करमात्र बढेको जनाएको छ ।

बजेट भाषणपछि क्लिकमाण्डूसँगको कुराकानीमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बजेट राम्रो भएको र थप टिप्पणी आर्थिक विधेयकपछि गर्ने बताएका थिए ।

आर्थिक विधेयक अध्ययनपछि चेम्बरले अर्थमन्त्रीलाई आर्थिक विधेयकमा भएका विषयवस्तु परिवर्तन गर्नको लागि सुझाव दिने भएको छ ।

‘आर्थिक विधेयकमा उपभोक्तालाई नै बढी भार पार्न खोज्ने कुराहरु समेटिएको छ, यहाँ उत्पादन नहुने वस्तुमा नै बढी भन्सार लगाइएको छ,’ श्रेष्ठले भने ।

खास गरेर आर्थिक विधेयकले ढुवानी व्यवसायमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ ।

यसले उपभोक्तालाई थप आर्थिक भार पार्ने श्रेष्ठ बताउँछन् । आर्थिक विधेयकले मूल्य अभिबृद्धि कर ऐन २०५२ अनुसार छुट पाउँदै आएको ढुवानी व्यवसायलाई मूल्य अभिबृद्धि कर (भ्याट) को दायरामा ल्याउने निर्णय गरेको हो ।

कुनैपनि व्यवसायिक प्रतिष्ठानले प्यानबिना तलब दिँदा यस्तो रकमलाई खर्चमा गणना गर्न नपाउने विषयले समेत व्यवहारिक रुपमा कार्यान्वयन गर्न कठिनाइ हुने श्रेष्ठको बुझाइ छ ।

अब कुनैपनि वस्तु ढुवानी गर्दा थप १३ प्रतिशत भ्याट तिर्नुपर्छ । यसले उपभोक्ताले भने अत्याधिक भार पर्ने देखिएको छ ।

चेम्बर अध्यक्ष श्रेष्ठ भने स्वदेशी उद्योगीलाई संरक्षण गर्ने नीति राम्रो भएपनि प्रतिस्पर्धात्मक मूल्यमा सामान पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताए ।

‘उपभोक्तालाई मारमा पारेर उद्योगले मात्र संरक्षण लिने कुरा राम्रो होइन, राज्यबाट छुट पाएपछि उद्योगको उत्पादन लागत क्षमता समेत घट्नपर्यो,’ श्रेष्ठले थपे ।

यता उद्योग वाणिज्य महासंघले भने अध्ययनपछि मात्र बजेटको बारेमा आधिकारिक धारणा ल्याउने जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बजेट भाषण राम्रो भए पनि आर्थिक विधेयकको विस्तृत अध्ययनपछि मात्र टिप्पणी गर्ने बताइन् ।

यद्यपि महासंघमा सदस्यहरुले बजेट भाषण राम्रो भएपनि आर्थिक विधेयकमा करका दरहरु अत्याधिक बढाइएको भन्दै विरोध गरेका छन् ।

उद्योग वाणिज्य महासंघले बढाइएका करका विषयमा आज साँझसम्ममा औपचारिक धारणा सार्वजानिक गर्ने जानकारी दिइन् ।


क्लिकमान्डु