निजी क्षेत्रको सहकार्य बिना आर्थिक विकास असम्भवः प्रचण्ड

42
Shares

बिराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रको सहकार्य बिना मुलुकको आर्थिक विकास हुन नसक्ने बताएका छन् ।

मोरङ व्यापार संघको ६४ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका दाहालले सरकार र निजी क्षेत्रको सहकार्य अहिलेको भन्दा अझै माथि उठाउनुपर्नेमा जोड दिए ।

दाहालले सरकार र निजी क्षेत्रले सहकार्यलाई अझै कसिलो र बलियो बनाउँदै मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताए । उनले आयात प्रतिस्थापन गरी निर्यातलाई पवद्र्धन नगरेसम्म नेपालको व्यापार सन्तुलन कायम हुन नसक्ने उल्लेख गरे ।

‘नेकपा नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्रमैत्री र लगानीमैत्री ऐन बनाइरहेको छ,’दाहालले भने । नेपालमा लगानीको वातावरण बनिसकेको अध्यक्ष दाहालले दाबी गरे । त्यस्तै उनले प्रदेश १ मा विकासको धेरै सम्भावना रहेको उल्लेख गरे । उनले विराटनगर प्रदेशको स्थायी राजधानी भइसकेको भन्दै राजधानीका संरचना छरेर प्रदेशको विकास नहुने चर्चा गर्दै अब विराटनगरलाई केन्द्र बनाएर प्रदेशको विकासमा जाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार घाटा कम गर्न अति आवश्यक वस्तु खरिद गरेर विलासिताका वस्तु आयातलाई नियन्त्रण गर्ने दायित्व उद्योगी व्यवसायीहरुकै भएको प्रस्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण बिना मुलुकको आर्थिक विकास हुन नसक्ने प्रस्ट पारे ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विराटनगर किमाथान्का सडक निर्माण कार्यलाई तिव्र रुपमा अगाडि बढाउनु पर्ने भन्दै विराटनगरको रिंगरोडको निर्माण कार्यलाई पूर्णता दिई संचालनमा ल्याउनु पर्नेमा जोड दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले चर्को ब्याजदर,लगानी मैत्री वातावरण बन्न नसकेको गुनासो गरे ।  कार्यक्रममा ओमप्रकाश श्रेष्ठ, जितेन्द्र सेठिया, सुरेशकुमार नौलाखा, मोती दुगड र पत्रकार शंकर खरेललाई ३१ हजार राशीले सम्मान गरिएको थियो ।