सेयर बजारका लगानीकर्ता भन्छन्- अर्थमन्त्रीज्यू हामीलाई यस्तो बजेट चाहिन्छ



काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा रहेको छ । यो अवधिमा धेरै निकायसँग अर्थ मन्त्रालयले आगामी बजेटको लागि भन्दै राय लिएको छ ।

लगानीकर्ताहरुले विभिन्न फोरममा गएर सेयर बजारको विकासका लागि आगामी आवको बजेटमा के के कुरा समावेश गर्नु पर्छ भनेर राय दिएका छन् । यतिबेला सेयर बजारको विकासमा लागि भन्दै विभिन्न संघ संस्था पनि खुलेका छन । ती संस्थाहरुले फरक फरक खालको राय दिएका छन भने उनीहरुका केही माग समान खालका भएपनि केही भने निकै नै फरक खालका रहेका छन् ।

हामीले सेयर बजारमा रहेका चार वटै संस्थाका अधिकारीहरुसँग कुरा गरेका छौं । क्लिकमाण्डुले संस्थाका प्रनिनिधिसँग गरेको कुराकानीको सम्पादित अंशः

छोटेलाल रौनियार, अध्यक्ष- नेपाल इन्भेष्टर फोरम

सरकारले आगामी बजेटमा पुँजीगत लाभकर ७.५ प्रतिशतलाई अन्तिम हुने गरी व्यवस्था हुन आवश्यक छ । दिर्घकालिन रुपमा कारोबार गर्नेका लागि ५ प्रशित हुनेछ भनेर लिखित रुपमा नै आउन आवश्यक छ । एक वर्ष भन्दा बढी सेयर राख्नेलाई प्राथमिकतामा राख्दा लगानीकर्ताको मनोबाल बढ्ने छ ।

लामो समयदेखि सेयर बजारमा मार्केट मेकर आउने भन्ने निकै चर्चा रहेको छ । तर त्यो अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । आगामी बजेटमा पनि यो विषयलाई टुंगो लगाउन सकेको खण्डमा बजार विकासमा ठूलो सहयोग पुग्ने छ । उनका नेपाली सेना र नेपाल प्रहरीसँग भएको पैसा पनि स्टक डिल्लरमार्फत सेयर बजारमा लगाउन आवश्यक रहेको छ । यसले बजारको चलखेल पनि रोक्ने छ ।

सेयर बजारमा एकद्वार प्रणाली नभएकोले लगानीकर्ताहरुले निकै सास्ती भोगी रहेका छन् । सेयर बजारमा एकद्वार प्रणाली लागु गर्ने हो भने लगानीकर्ताले विभिन्न सास्ती भोग्नु पर्ने थिएन । नियमनकारी निकायले भनेको काम अन्य निकायले नगर्दा लागनीकर्ताहरुले सास्ती भोग्नु पर्ने थिएन ।

सेयर बजारमा अर्को समस्या भनेको ब्याजदर पनि हो । अहिले निकै चर्को ब्याजदर रहेको छ । ब्याजदर समयमा नै नघट्ने हो भने सरकारले पनि आपेक्षाकृति आर्थिक बृद्धिदर हाँसिल गर्न सक्दैन । अहिलेको ब्याजदरले लगानीकर्तालाई दिर्घकालीन असर गर्दछ । सरकारले समयमा नै विकास बजेट खर्च गर्ने हो भने ब्याजदर न्यून हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेजस्तै सरकारले पनि पहिलो क्याटरमा यति खर्च, दोस्रो, तेस्रो र चौथो त्रैमासमा क्रमशः यति-यति बजेट खर्च गर्ने भनेर योजना बनाएर अघि बढेको खण्डमा विकास खर्च बढ्ने थियो । यसले बैंक तथा वित्तीय संस्थामा तरलताको अभावको समस्या देखिँदैन ।

सरकारले बजेट मार्फत तीन देखि ५ वर्षको लागि राहत प्याकेज ल्याउन सकेको खण्डमा साना लगानीकर्तामा छरिएर रहेको पैसा पुँजी बजारमा आउने छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय लामो समयदेखि चर्चामा रहेको छ । सबै बैंकको शाखाले ब्रोकरको काम गर्न पाउने व्यवस्था लिखित रुपमा आउन आवश्यक छ ।

अहिले सेयर किनेबच गर्दा लाग्ने कमिसन (०.६)लाई घटाउन आवश्यक छ । कमिसनका कारण बजारको विस्तारमा अवरोध भएको छ । अहिले राफसाफ सुरु भइ सकेकोले कमिसन दर घटाउदै पर्छ ।

राधा पोखरेल, अध्यक्ष- नेपाल पूँजी बजार लगानीकर्ता संघ

पूँजी गत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेर यसैलाई अन्तिम कर घोषणा गर्न आवश्यक छ । मार्केट मेकरको व्यवस्था गर्न निकै ढिला भएको छ । यो पनि तत्काल होस । सेयर लोनमा लगाईएको बैंक ब्याज तत्काल घटाउन आवश्यक छ ।

सेयर धितो कर्जाको सिमा ६५ बाट ८० प्रतिशतसम्म पुर्याउन आवश्उक छ । गत बर्ष बजेट मार्फत आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा यथा सक्य छिटो दिनेतर्फ कदम चाल्न आवश्यक छ । साथै सेयर शिक्षा सचेतना सम्बन्धी प्रोग्रामहरु देशब्यापी बनाउनेतर्फ ध्यान जान आवश्यक छ ।

यस्तै गैरआवासिय नेपाली संघलाई नेपालमा पुँजी बजारमा लगानी गर्ने व्यवस्था बजेटमा हुनुपर्यो । सेयर बजारमा पनि महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गर्न आवश्यक छ ।

संरक्षणा चौधरी, अध्यक्ष- नेपाल पुँजीबजार संघ

अहिले ब्रोकरले लिँदै आएको ब्रोकर कमिशनलाई घटाएर ०.४ प्रतिशतमा झानुपर्छ । यो अहिलेको लागि बजार विकासको बाधक हो । टि प्लस वार्य कारोबार प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । सेयर धितो कर्जाको सीमा ४० देखि ६० प्रतिशत हुन आवश्यक छ । यो भयो भने बजार विकासमा धेरै नै सहयोग पुर्याउँछ ।

अब सरकारले पुँजी बजारमा आउन चाहने लगानीकर्ताहरुको लागि विशेष व्यवस्था पनि गर्न आवश्यक छ । सेयर बजारको विषयमा उपत्यका बाहिर जनचेतना मुलक कार्यक्रम गर्न आवश्यक छ । दुर्गममा पनि पुँजी बजारको विकासको लागि जनचेतना आवश्यक छ ।

 

ताराप्रसाद फुल्लेल, उपाध्यक्ष- सेयर लगानीकर्ता संघ,  

सेयर बजारको विकासका लागि बजेटमा पुँजीगत लाभकर ७.५ प्रतिशतलाई अन्तिम हुने गरी व्यवस्था हुन आवश्यक छ । यो भयो भने बजारको विकास हुने छ । राष्ट्र बैैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले ल्याएको प्रतिवेदन तत्काल पूर्ण कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

बजार विकासको लागि मार्केट मेकर निकै आवश्यक रहेको छ । यो ल्याउन निकै ढिला भएको छ । तत्काल मार्केट मेकर ल्याउन बजेटबाट नै पहल हुन जरुरी छ ।

सेयर बजारमा गैर आवासीय नेपालीलाई तत्काल ल्याउन आवश्यक छ । यस्तै पुँजी बजारलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो हो भन्ने पनि प्रष्ठ हुन जरुरी छ । नियमक निकाय र अन्य निकायको तालमेल पनि नहुने गरेको छ । यो समस्या पनि समाधान गर्न आवश्यक छ ।


क्लिकमान्डु