भव्य भवनमा शानदार मेरियट, ४ अर्ब रुपैयाँको लगानी



काठमाडौं ।  चार वर्ष अगाडि मुलुक भूकम्प र नाकाबन्दी चपेटामा थियो । पर्यटनको क्षेत्र ध्वस्त थियो । अन्य क्षेत्र पनि प्रभावित भएका थिए । मुलुकको अर्थतन्त्र नराम्रोसँग कमजोर बनेको थियो ।

त्यही समयमा विश्वप्रसिद्ध होटल मेरियट नेपाल प्रवेश गरेको थियो । होटलले व्यवसायिक जग हाल्दै गर्दा पर्यटन क्षेत्र लथालिङ थियो । तर पर्यटनको क्षेत्रमा अथाह सम्भावना देखेका शशिकान्त अग्रवाल आफ्नो सोचबाट पछाडि हटेनन् ।
त्यही जटिल परिस्थितीमा अग्रवालले नक्सालमा मेरियटको विउ रोपेका थिए । अहिले ४ वर्ष भएको छ । शानदार भवन उभिएको छ । जहाँ उच्चस्तरको सेवा दिनका लागि तयार भइसकेको छ ।

विश्वका विभिन्न देशमा ८ हजारभन्दा बढी होटलमार्फत विश्वभरका मानिसहरुलाई सेवा प्रदान गरिरहेको अमेरिकी होटल चेन मेरियटले नेपालमा व्यवासय विस्तार गर्नु पर्यटन क्षेत्रका लागि पनि अवसर हो ।

लामो समयदेखि उद्योगमा संलग्न एमएस ग्रुपका अध्यक्ष अग्रवालले ४ वर्ष अगाडि मेरियटको सेवा नेपाल ल्याउने योजना बनाएका थिए । कैयन पटक विदेशको यात्रा गर्दा विभिन्न देशमा सञ्चालित मेरियट होटलले दिएको सुविधाले लोभिएका उनले नेपालको पर्यटन व्यवसायमा मेरियट जस्तो प्रसिद्ध होटलको आवश्यकता महसुस गरेका थिए ।

काठमाडौंको नक्सालमा रहेको नागपोखरीको छेउमा १३ रोपनी क्षेत्रफलमा शानदार भवनमार्फत मेरियटले आफ्नो सेवा सुरु गरिसकेको छ । १३ तलामा उभिएको भवनको अन्डरग्राउन्डमा पार्किङ र त्यसभन्दा मुनी एक तलामा क्याफेटेरिया, तालिम कक्ष, मिटिङ हल, लन्ड्रिलगातका काम गरिन्छ ।

भविष्यमा भवनको छेवैमा अत्याधुनिक पार्किङको समेत व्यवस्था गर्ने तयारी भइरहेको छ । यसका लागि अग्रवालले ४ अर्ब रुपैयाँ खर्च गरेका छन् । जसमध्ये भवनमा ४० करोड रुपैयाँ त फायर ब्रिगेडमा मात्रै खर्च गरिएको छ । भवनलाई हरेक कोणबाट सुरक्षित बनाउने नाममा होटलले हरसम्भवन प्रयास गरेको छ ।

विश्वभर होटल क्षेत्रमा प्रभुत्व जमाएको मेरियट ल्याउन कति संर्घष गरे त अग्रवालले ? भन्छन, ‘होटल सुरु गर्ने समयदेखि जग्गा अवलोकन गर्ने, डिजाइन गर्ने र त्यसलाई मूर्तरुप दिनेसम्ममा उनीहरुको निश्चित नियम हुन्छ र सोहीअनुसार चल्नुपर्छ त्यसका लागि मापदण्ड तोकिएको छ, त्यसलाई सहमति जनाएपछि मात्रै स्वीकृति पाइन्छ ।’

ब्राण्ड दिएवापत कम्पनीले निश्चित प्रतिशत रकम लिन्छ । सुरुमा साइनिङ अमाउन्टका रुपमा मात्रै झण्डै साढे २ लाख डलर लिएको थियो ।

मेडियटको डिजाइनका लागि हङकङकी नागरिक ‘क्यानर’ले गरेकी हुन् । नेपालमा केही समय बसेर यहाँको मौलिकता अध्ययन गरेकी थिइन् । राजधानी र यसमा भएको परम्परा र पहिचानलाई नजिकबाट नियालेपछि उनले यो डिजाइन तयार पारेकी हुन् ।

‘हरेक कोठामा नेपालीपन झल्कने गरी डिजाइन गरिएको छ,’ अग्रवालले भने ‘यो मेरियटको विशेषता पनि हो, ठाउँ अनुसारको पन झल्कनु पनि पर्छ ।’
एउटा भनाइ छ नि ‘फिल अफ प्लेस’ । जुन ठाउँमा होटल छ त्यो ठाउँको फिल आउनैपर्छ । केही मानिसहरु यस्ता हुन्छन जो हरेक समय ट्राभल गरिरहेका हुन्छन् । उनीहरु फरक–फरक देशमा यात्रा गरिरहेका हुन्छन् । उनीहरुलाई बिहान उठ्दा त्यो ठाउँको फिल आउनैपर्छ । यही त हो देखाउने हामीले । त्यसका लागि हरेक कोठामा नेपालीपन झल्कने चित्रकता, आकृति सजाइएको छ ।

अग्रवाल मेरियटको भविष्य मुलुकको पर्यटनसँग सम्बन्धित भएको बनाउँछन् । जति धेरै पर्यटक आउँछन, विदेशीहरु नेपाल आउने वातावरण बन्छ सोहीअनुसारले मेरियटको भविष्य निर्धारण हुन्छ । त्यसका लागि सरकारले पर्यटनको विकासमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

पर्यटन क्षेत्रको विकास गर्ने हो भने सोहीअनुसारले योजना पनि ल्याउनु पर्ने अग्रवालले भनाइ छ । तर सरकारले यसमा केही काम गरेको देखिन्न् ।
प्रत्येक पर्यटकलाई बोर्डिङ पासका आधारमा निश्चित क्षेत्रमा प्रवेश गर्न पाउने व्यवस्था गर्न सकिन्छ । पर्यटकलाई लक्षित गरी हरेक दिन साँझमा हाम्रा एतिहासिक क्षेत्रमा विभिन्न नाच, प्रहशन देखाउन सकिन्छ । यसले पर्यटक आकर्षित हुन्छन् ।

पछिल्लो समय होटल क्षेत्रमा लगानी आकर्षित भइरहेको बेलामा राजधानी काठमाडौंमा विश्वप्रसिद्ध चेन होटल मेरियटले आफ्नो सेवा विस्तारलाई पर्यटन क्षेत्रको सम्भावना पनि बलियो बनाएको छ ।

होटलभित्र प्रवेश गर्ने वित्तिकै तपाईलाई नेपालीपन झल्कने परम्परागत वस्तुहरुले तपाईलाई स्वागत गर्छन् । झण्डै १ सयको हाराहारीको संख्यामा अतिथी बस्न मिल्ने होटलको लविमा राखिएका शानदार सोफाहरुलाई वरिपरीबाट नेपाली मौलिकता बोक्ने साजसज्जाले जो सुकैको पनि मन लोभ्याउँछ ।

वसन्तुपुरमा रहेको एतिहासिक घण्टाको नमूना लविको ठ्याक्कै माथि झुण्डाइएको छ । त्यसँगैसँग जोडिएको छेउमा नेपालको मौलिकता झल्कने अनुपम काष्ठकलाको नमूना देख्न पाइन्छ । सँगै झुण्डिएका ५० औं स–साना घण्टीहरु निकै आकर्षक लाग्छन् ।

लविको आरामदायी सोफामा बसेर रिसेप्सनतर्फ फर्कनुहुन्छ भने स्वागतको मधुर मुस्कानले सञ्चार गर्ने कर्मचारी सेवामा हाजिर छन् ।

उनीहरुसँग संसारभर नेपालको पहिचान बनाएको पस्मिना र स–साना विभिन्न आकृति कुँदिएका कास्ठकला अद्भुत आकृति व्यवस्थित ढंगले भित्ता सजिएको छ । होटलमा ठमेल किचनसँगै, इदाममो गरी दुई वटा किचन पनि छन् । होटलमा २ सयभन्दा बढी कर्मचारी हर समय सेवा दिनका लागि तयार छन् ।

यसको व्यवस्थापन भने अमेरिकन चेन होटल ब्राण्ड मेरियटले हेर्छ । होटलमा २१४ वटा रुम छन् । होटलमा विलाशी प्रेसिडेन्सियल स्वीटदेखि सबै प्रकारका रुमहरु छन् । जसमा २० वटा स्वीट रुम छन् । जसमा जुनियर स्वीट रुमको २२० र २५० डलर तोकिएको छ भने अन्य रुमहरुको मूल्य १५० डलर तोकिएको छ ।

होटलको दोस्रो तलामा अत्याधुनिक स्वीमिङ पुल, स्पा, जिमहलको व्यवस्था छ । बारमा रमाउनेहरुका लागि आकर्षक बार पनि छ । जापानिज, चाइनिज र कोरियन खानाका लागि छुट्टै रेष्टुराँ छ । सेमिनार गर्नका लागि झण्डै ८ सय मानिस अटाउने विशाल हल छ । भने कर्पोरेट मिटिङ गर्नका लागि ५०, ८० र १२० जना अटाउने अरु हलहरु पनि छन् ।


कमलकुमार बस्नेत