नेप्सेको सफ्टवेयर घोटला छानबिनमा अख्तियारको तीव्रता, मापदण्डअनुसार नभएको शंका



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)ले अनलाइन ट्रेडिङ प्रणालीका लागि ल्याएको सफ्टवेयर खरिदमा घोटाला भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्रता दिएको छ । नेप्सेले भारतबाट ७ महिना अगाडि १९ करोड रुपैयाँको हाराहारीमा सफ्टवेयर खरिद गरेको थियो ।

ठूलो रकम खर्चेर ल्याइएको सफ्टवेयर सञ्चालनमा आएको सात महिनामा पटक–पटक समस्या देखिएपछि लगानीकर्ताहरुले अख्तियारमा उजुरी दिएका थिए । ‘पटक पटक समस्या देखियो, लगानीकर्ताहरुले समयमा नै अनलाइनबाट सेयर कारोबार गर्न पाएनन’ एक लगानीकर्ताले भने ।

अख्तियारमा सेयर लगानीकर्ताहरु त्रयकुमार सिटौला, माधव गौतम र ईश्वर गुरुङले सफ्टवेयर खरिदमा अनियमितता भएको भन्दै छानविन माग गर्दै गत फागुन २७ गते उजुरी दिएका थिए । उनीहरुले अख्तियारमा दर्ता गरेको उजुरी दर्ता नम्बर २१४२९ हो ।

उजुरीमा नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टममा डाटा लिक, सिस्टम क्रयास जस्ता अनगिन्ती समस्या दिनानुदिन बढिरहेको उल्लेख गरेका छन् । अख्तियारले सफ्टवेयर खरिददेखि अहिलेसम्मको सम्पूर्ण प्रक्रियाको छानबिन गर्नुपर्ने निवेदकको माग छ ।

उक्त उजुरीपछि आयोगले छानविनका लागि भन्दै आवश्यक कागजात अर्थमन्त्रालयमार्फत माग गरेको थियो । आयोगले अर्थमार्फत आवश्यक कागजात माग गरेपनि मन्त्रालयले धितोपत्र बोर्डलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो ।

बोर्डले नेप्सेबाट आवश्यक कागजात लिएर झण्डै साढे दुई महिना अघि रिपोर्ट मन्त्रालयमार्फत आयोगमा पठाएको बताइएको छ । नेप्सेले पनि बोर्डले माग बमोजिमको ६, ७ बोरा कागजात पठाएको जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले अर्थले दिएको रिपोर्टलाई आधार मानेर अध्ययन गरिरहेको क्लिकमान्डूलाई जानकारी दिए । उनले भने, ‘हामीले धितोपत्र बोर्डले दिएको रिपोर्ट पाएको छौं, त्यही रिपोर्टलाई आधार भनेर अध्ययन गरिरहेका छौं ।’ उक्त रिपोर्ट पूर्ण नभए पनि त्यसलाई भने आधार मानेको उनको भनाइ छ ।

स्रोतका अनुसार बोर्डले दिएको रिपोर्टका केही शब्दमा अन्योलता देखिएको छ । स्रोतका अनुसार बोर्डले दिएको रिपोर्टमा अनलाइन सुरु भएदेखि नै विभिन्न समस्या देखिएको उल्लेख गरिएको छ । सुरु भएदेखि नै समस्या हुनुले कतै न कतै आर्थिक घोेटाला भएको हुनसक्ने देखिएको रिपोर्टमा उल्लेख रहेको बताइएको छ ।

अनलाइनमा समय समयमा समस्या देखिँदा यो सिस्टक अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको रिपोर्टमा उल्लेख छ । बोर्डको रिपोर्टमा नेप्सेको अनलाइन सिस्टम इन्टरनेशनल कम्प्याटिबल नभएको उल्लेख छ ।

हुन त अनलाइन सुरु भएपछि आइएसओ मान्यताप्राप्त भएको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । तर अहिलेसम्म आइएसओ मान्यता पाएको छैन् । सफ्टवेयर ल्याएको २ महिनाभित्रमा आइएसओ मान्यता पाउने भने पनि ७ महिनासम्म मान्यता पाउन सकेको छैन् ।

नेप्सेका एक अधिकारीका अनुसार युजर एसेप्टेन्स टेस्ट (यूएटी) गर्ने जिम्मा पाएको भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजले आइएसओ मान्यता पाउनका लागि प्रक्रिया सुरु गरेको छ ।


क्लिकमान्डु