एटिएम मेसिनमा नेपाली भाषा प्रयोग अनिवार्य गराउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने गरी बनाउनका लागि सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै ३० दिनभित्रमा एटिएम मेसिनहरुमा अनिवार्यरुपमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

साथै उक्त व्यवस्था भइसकेपछि राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको हो ।

बैंकले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ (दोस्रो संशोधन, २०७४ समेत) को विनियम ५९ उप विनियम (१) अनुसार अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग हुनुपर्ने बताएको छ ।

एटिएमहरुमा नेपाली भाषाको प्रयोग गर्न नमिल्ने भएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने समेत उल्लेख गरिएको छ ।


क्लिकमान्डु