सेयर कन्ट्रोल गरेर शिवम् र हिमालयन डिस्टिलरीमा कसले गर्दै छ चलखेल ?



काठमाडौं । सेयर बजारमा सप्लाइ कम भएका २ कम्पनीका लगानीकर्ता यतिबेला मालामाल भएका छन् ।

शिवम् सिमेन्ट र हिमालनय डिस्ट्रिलरी दुई कम्पनीको सप्लाइ निकै कम छ । यही कारण लगानीकर्ता भने सेयरको भाउ बढेर मनग्गे कमाएका छन् ।

एक महिना अघि मात्रै शिवम् सिमेन्टका लगानीकर्ताहरुले प्रति कित्ता ३२० रुपैयाँ कमाउँदा हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले एक महिनामै प्रति कित्ता ५४९ रुपैयाँ कमाए ।

आइतबार शिवम् सिमेन्टको सेयर मूल्य प्रति कित्ता ५७ रुपैयाँले बढेर ६२९ रुपैयाँ पुग्यो । बैशाख १८ गते प्रति कित्ता ३०९ रुपैयाँ रहेको शिव्मको सेयर मूल्य एक महिनामै प्रति कित्ता ३२० रुपैयाँले बढेर प्रति कित्ता ६२९ रुपैयाँ पुगेको हो ।

शिवम्को मात्र होइन हिमालयन डिस्ट्रिलरीको पनि सेयर मूल्यमा निकै उछाल देखिएको छ । हिमालयनको सेयर मूल्य आइतबार प्रति कित्ता २९ रुपैयाँले बढेर १९४९ रुपैयाँ पुगेको छ ।

बैशाख ६ गते हिमालयनको सेयर मूल्य जम्मा १४०० रुपैयाँ थियो । निरन्तर सेयर मूल्य बढेको यो कम्पनीको बैशाख २९ गते सेयर मूल्य प्रति कित्ता २०५९ रुपैयाँसम्म पुगेको थियो ।

यी कम्पनीको सेयर मूल्य यसरी आक्रमक रुपमा बढ्नुपर्ने कुनै कारण नभएको अग्रज लगानीकर्ताको बुझाइ छ । एक अग्रज लगानीकर्ता भन्छन, ‘यतिबेला लगानीकर्ताहरुमा बलेको आगो ताप्ने प्रवृति देखिएको छ ।’ त्यसले गर्दा नै यस्ता कम्पनीहरुको सेयर मूल्य बढेको उनको विश्लेषण छ ।

बजारमा कम्पनीको सेयर सप्लाइ कन्ट्रोल गरेर मूल्य बढेको लगानीकर्ताको बुझाइ छ । यसरी शिवम्को सेयर मूल्य एकाएक बढनुपर्ने कारण भने नभएको लगानीकर्ताहरुको बुझाइ छ ।

शिवम्ले यो अवधिमा लगानीकर्तालाई आर्थिक वर्ष २०७४÷०७५ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

रणनीति नै बनाएर बजारमा खेलाडीहरुले दुबै कम्पनीको सेयर मूल्य बढाएको लगानीकर्ताको बुझाइ छ ।

हिमालयनले यस अघि लगानीकर्तालाई दिएको प्रतिफल पनि त्यति सन्तोषजनक भने छैन् । अहिलेसम्म लगानीकर्ताहरुलाई बोनस नदिएको हिमालयनले नगद लाभांश भने दिएको छ ।

हिमालयनले अहिलेसम्म पाँच पटक लाभांश दिइसकेको छ । जसमा आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत नगद, २०७१/७२ मा २० प्रतिशत, २०७२/०७३ मा २० प्रतिशत, २०७३/०७४ मा २१.०५ प्रतिशत र आव २०७४/०७५ मा २१.०५ प्रतिशत नगद लाभांश दिएको छ ।


क्लिकमान्डु