३ अर्ब रुपैयाँको आईपीओ आउँदै, कसको कति ?



 

काठमाडौं । चालु आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने भएको छ । १६ वटा कम्पनीको २ अर्ब ९५ करोड ६२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आवेदन दिएकामध्ये २ कम्पनी इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाइसकेका छन् भने बाँकी १४ वटा कम्पनी स्वीकृतिको पर्खाइमा छन् ।

इन्फिनिटीले गत बैशाख २३ गते स्वीकृति पाएर जेठ १२ गते आइतबारदेखि ६ करोड ७४ लाख रुपैयाँको आईपीओ जारी गर्दैछ । त्यस्तै, हिमाल हाइड्रोपावर कम्पनीले ७८ करोड रुपैयाँको आईपीओ केही दिनपछि जारी गर्ने तयारी गरेको छ ।

स्वीकृति पाएका कम्पनीले २ महिनाभित्रमा आईपीओ जारी गरिसक्नु पर्नेछ ।

त्यस्तै, १४ वटा कम्पनीले २ अर्ब १० करोड ८८ लाख ६ हजार ५ सय रुपैयाँको प्रस्ताव धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन् । जसमध्ये ९ वटा हाइड्रो कम्पनी, ३ वटा माइक्रोफाइनान्स र एक–एक वटा मर्चेन्ट र इन्भेस्टमेन्ट कम्पनी छन् ।

ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ तथा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ३७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि बोर्डमा पठाएका छन् ।

त्यस्तै, शुभम् पावरको ५ करोड ८० लाख ५८ हजार रुपैयाँ, घोडीघोडा लघुवित्त वित्तीय संस्थाले १ करोड ३२ लाख ६० हजार, शिवश्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख ५० हजार, सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख रुपैयाँ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि निवेदन दिएका छन् ।

सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड रुपैयाँ, माइलुङ खोला जल विद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ, रुरु जलविद्युत परियोजनाले ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँको आईपीओ जारी गर्नका स्वीकृतिका लागि बोर्डमा पठाएका छन् ।

त्यस्तै, बाँकी ३ कम्पनीमा गर्ज्याङ उपत्यका हाइड्रोपावर कम्पनीले २ करोड रुपैयाँ, लफिङ बुद्ध पावरले ९ करोड ७८ लाख रुपैयाँ र सिइडिबी हाइड्रो फन्डले २ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति माग गरेका छन् ।


क्लिकमान्डु