सरकारले १५ दिनमा ८६ अर्ब आन्तरिक ऋण उठाउने, तरलता व्यवस्थापनमा चाप



काठमाडौं । सरकारले १५ दिनमा आन्तरिक ऋण अन्तर्गत ८६ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ ।

यसको लागि राष्ट्र बैंकले कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको तालिका अनुसार बैशाख ३० देखि जेठ १४ सम्ममा सरकारले आन्तरिक ऋण उठाउने छ ।

लक्ष्य अनुसार विकास खर्च नभएपछि सरकारले आर्थिक वर्षको अन्त्यमा आन्तरिक ऋण उठाएको हो । एकैपटक आर्थिक वर्षको अन्त्यमा आन्तरिक ऋण उठाउदा तरलता व्यवस्थापनलाई भने असर गर्ने छ ।

सरकारले अल्पकालिन तथा एकवर्षे टे«जरी बिल्स सहित विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन लागेको छ । सरकारले विकास ऋणपत्र ५ देखि १५ वर्षसम्मको जारी गर्ने छ ।

बैंकहरुले तरलता व्यवस्थापनको लागि राखेको रकमबाट सरकारले जारी गर्ने आन्तरिक ऋण उठाउने छन् । यसले अल्पकालिन रुपमा तरलता व्यवस्थापनको लागि बैंकहरुलाई थप समस्यामा पार्छ । जसले गर्दा अन्तर बैंक ब्याजदर अझै माथि जाने देखिन्छ ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम क्षेत्री सरकारले लामो समयपछि आन्तरिक ऋण उठाएकोलाई राम्रो नै मान्नुपर्ने बताउँछन् ।

‘अल्पकालिन रुपमा तरलताको चाप परेमा सरकारी ऋणपत्र धितो राखेर यसलाई व्यवस्थापन गर्न सकिन्छ,’उनले भने ।

सरकारले उठाउने आन्तरिक ऋणले बैंकहरुले सर्वसाधारणलाई दिने ऋण रकममा भने असर गर्दैन । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकहरुले निक्षेपको २० प्रतिशत तरलता व्यवस्तथापनको लागि राख्नुपर्छ । सोही रकमबाट बैंकहरुले सरकारले जारी गर्ने ऋणपत्र किन्ने हो ।

सरकारले विकास खर्च अन्तिममा गर्ने भएपछि आन्तरिक ऋण उठाउन लागेको हो ।


क्लिकमान्डु