अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरे बजेटका सिद्दान्त, यी क्षेत्रलाई प्राथमिकता



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले “आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा उक्त प्रस्ताव पेश गर्दै खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता खाकाभित्र रहेर बजेट तर्जुमा गरिने जानकारी गराउँदै छलफलमा उठेका विषयवस्तुलाई बजेटको मार्ग दर्शनका रुपमा लिने बताए ।

अर्थमन्त्री डा खतिवडाले संवैधानिक व्यवस्था अनुसार नागरिकका मौलिक हक र अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको उल्लेख गरे ।

उनले आगामी आवको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताए ।

अर्थमन्त्री खतिवडाले बजेटमा आगामी दुई वर्षभित्र सबै बालबालिकालाई भर्ना गराउँदै ‘साक्षार नेपाल’ घोषणा तर्फ बजेट लक्षित गरिने, जोखिमयुक्त बस्तीका सबै परिवारलाई सुरक्षित स्थानमा सुविधायुक्त आवासको व्यवस्था गर्ने, आगामी आवलाई युवा परिचालन वर्षका रुपमा लिइनेलगायतका प्राथमिकता रहेको अवगत गराए ।


क्लिकमान्डु