के अर्थमन्त्री खतिवडाले इतिहास राख्लान् ?



काठमाडौं । केही दिन अगाडि पूर्व अर्थसचिव तथा अहिले राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त रहेका कृष्णहरि बास्कोटाले अर्थमन्त्री डा युवराज खतिवडालाई इतिहास राख्नको लागि आग्रह गरे ।

अर्थमन्त्री खतिवडासँगै मञ्चमा रहेका बास्कोटाले तीनवटा पूर्वअर्र्थमन्त्रीजस्तै हालका अर्थमन्त्री खतिवडालाई इतिहासमा नाम लेखाउन सुझाव दिएका थिए ।

उनले नेपालमा पहिलो पटक बजेट पेश गर्ने सुवर्ण शमशेर, पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्ने भरतमोहन अधिकारी र पहिलो पटक लैंगिक बजेटको सुरुवात गर्ने डा रामशरण महतजस्तै खतिवडाले आर्थिक वर्ष परिवर्तन गरेर इतिहासमा नाम लेखाउनको सुझाव दिए ।

उनले आर्थिक वर्ष बैशाख १ बाट सुरु गरेर चैत मसान्तमा सक्नुपर्ने सुझाव दिएका थिए ।
अहिले नेपालमा आर्थिक वर्ष साउन १ देखि सुरु भएर असार मसान्तमा सकिने व्यवस्था छ ।

अर्थसमितिले गरेको सर्वेमा पनि बहुसंख्यकले बजेट कार्यान्वयनका लागि आर्थिक वर्ष परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।

अर्थसमितिले बजेटको लागि १० जिल्लामा ४८६ जनामा गरेको सर्वेमा बहुसंख्यक नागरिकको सुझाव आर्थिक वर्ष परिवर्तनमा रहेको छ ।

अर्थसमितिले सार्वजनिक गरेको सर्वेको नतिजामा बजेट कार्यान्वयन हुन नसक्नुको प्रमुख कारण अहिलेको आर्थिक वर्षलाई लिइएको छ ।

सर्वेक्षणमा सहभागी २९५ जनाले आर्थिक वर्ष बैशाख १ बाट सुरु गर्नुपर्ने बताएका छन् ।
१०९ जनाले अहिलेको ठिक भएको,असार १ बाट ३६ जनाले र ४६ जनाले आफ्ले उत्तर नदिएर तपाईको बिचार भनेका छन् ।

अर्थमन्त्री खतिवडालाई इतिहासमा नाम लेखाउन आग्रह गर्दा त्यसको जवाफ दिदै खतिवडाले व्यक्तिले नगरेर सिस्टमले काम गर्ने बताएका छन् ।

अर्थसमितिले यसको सुझाव अर्थमन्त्री खतिवडालाई बुझाउने छ । सरकारले निर्णय गरेमा आर्थिक वर्ष परिवर्तन गर्नको लागि कठिनाई भने हुँदैन ।


क्लिकमान्डु