निक्षेप घट्न लागेपनि एभरेष्ट बैंक ऋणमा आक्रामक, मासिक १९१९९ इएमआईमा २० लाख घर बनाउन ऋण दिने
काठमाडौं । सरकारी नीतिको कारण २ अर्ब रुपैयाँ निक्षेप घट्न लागेको एभरेष्ट बैंक ऋणमा आक्रामक बन्ने भएको छ ।
बैंकले होमलोनको स्कीम सार्वजनिक गरेको छ । बैंकले मासिक ९ हजार ५९९ इएमआईमा १० लाखसम्म ऋण दिने,यस्तै मासिक १९ लाख १९९ रुपैयाँ मासिक इएमआईमा २० लाख र मासिक ३८ हजार ९९८ मा ४० लाखसम्म ऋण दिने योजना ल्याएको छ ।
चैत मसान्तसम्मको विवरण अनुसार एभरेष्टको कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) ७६.६९ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंकसँग चैत मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ छ । यस्तै कर्जा १ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।
बैशाखको अन्तिम साता घरकर्जामा नै आक्रामक ढंगले ऋण दिने योजना एभरेष्टले ल्याएको हो । एभरेष्टको बेसरेट ८.०१ प्रतिशत छ । यो भनेको अन्य बैंकको भन्दा सस्तो नै ब्याजदरमा ऋण लिन सक्ने बिकल्प हो ।
यसमा बैंकले कर्जाको अवधी जोडेर ब्याजदर निर्धारण गर्छ ।
सिंहदरबारमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खुलेको छ । वाणिज्य बैंकले शाखा संचालन गरेसँगै सिंहदरबार भित्र सरकारी कर्मचारी,सांसद् सचिवालयका कर्मचारी तथा सांसद्हरुको तलब अब वाणिज्य बैंकमा जाने छ ।
प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले पूर्ण सरकारी लगानीको वाणिज्य बैंकमा तलब नदिएर भारतीय लगानी रहेको एभरेष्ट बैंकमा तलब हालेको भन्दै आपत्ति जनाएका थिए ।
सिंहदरबारमा सरकारी कर्मचारीको तलब व्यवस्थापन गर्न नपाउदा बैंकलाई २ अर्ब रुपैयाँको निक्षेप घट्न सक्छ ।
एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व भारतीय सरकारको लगानी रहेको पंजाव नेशनल बैंकको रहेको छ ।
यद्यपी नेपाली कानून अनुसार यहा दर्ता भएको कम्पनी नेपाली नै हुन्छ ।