कहाँ छन् स्टकमा सूचीकृत यी नाम चलेका १२ कम्पनी, के भयो लगानीकर्ताको करोडौं लगानी ?
काठमाडौं । नेपाल स्टक एक्सेचञ्जमा कूल २२३ कम्पनी सूचीकृत छन् । ती मध्ये नियमित रुपमा कारोवार हुने कम्पनीको संख्या १८० को हाराहारीमा रहेका छन् ।
तर स्टकमा सूचीकृत भएका केही कम्पनीको भने नामो निसान छैन । कूल १२ कम्पनीको अवस्था के छ भन्ने समेत आम लगानीकर्ताले थाहा पाउन सकेका छैनन् ।
विगतमा राम्रो प्रतिफल दिएका केही कम्पनी नराम्ररी कोमामा पुगेका छन् । सेयर बजारमा नाफा हुने आशमा लगानी गरेका लगानीकर्ता समेत डुबेका छन् ।
स्टकमा हालसम्म सूचीकृत अवस्थामा रहेका ती १२ कम्पनीको न त शेयर कारोवार हुने गरेको छ न त ती कम्पनी लिक्विडेशनमा गएको नै जानकारी दिइएको छ ।
स्टकमा सूचीकृत भएको भृकुटी कागज पल्प एण्ड पेपर लिमिटेडको ३५ लाख कित्ता सेयर सूचीकृत भएको देखिन्छ । यस्तै रघुपति जुट मिलको १८ लाख ६ हजार ९६६ कित्ता सेयर सूचीकृत भएको स्टकको विवरणमा उल्लेख छ ।
यस्तै नेपाल वनस्पति घिउ उद्योगको एक लाख १ हजार २५० कित्ता, नेपाल खाद्य उद्योग ९० हजार कित्ता, नेपाल विटुमिन एण्ड व्यारेल उद्योगको २ लाख १० हजार ६८० कित्ता, ज्योति स्पिनिङ मिल १२ लाख ७० हजार २८८ कित्ता, हरिसिद्धी इट्टा टायल कारखाना १ करोड ८६ लाख ५० हजार कित्ता, गोरखाकाली रबर उद्योग ३८ लाख ३३ हजार ४०० कित्ता सेयर सूचीकृत छन् ।
तर ती सेयरको मूल्य नै रहेको छैन । यस्तै फ्ल्युर हिमालयन लिमिटेडको २ लाख ६२ हजार १०२ कित्ता, बुटवल स्पिनिङ मिल १३ लाख ६ हजार ६९३ कित्ता, विराट सुज १ लाख ६५ हजार कित्ता र अरुण वनस्पति उद्योगको ५ लाख ५० हजार ३४३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको देखिन्छ । तर बजारमा ती कम्पनीको सेयर कारोवार हुन नसकेको लामो समय भयो । सेयर पाएर पनि लगानीकर्ता नराम्ररी डुबेका यी कम्पनी कुनै समय राम्रा र योग्य कम्पनीको रुपमा मानिन्थे ।