वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबि बैंकले एक अर्ब ऋण दिने
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबि बैंकले सहुलियत कर्जा अन्तर्गत एक अर्ब रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ ।
मंगलबार राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच त्रिपक्षीय समझदारी पत्रमा उक्त ऋण उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशिलता प्रबद्र्घन गर्ने उद्देश्यले उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै बैंकले प्रति ब्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि– २०७५ बमोजिम योग्य रहेका वैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई राष्ट्रिय युवा परिषद्को समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसको आधारमा उक्त ऋण उपलब्ध गराइने छ । उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडी रोजगारी तथा स्वरोजगारको अवसर श्रृजना गर्ने लक्ष्य छ ।