फिजीमा अर्थमन्त्रीले भनेः नेपालमा आर्थिक सहायता बढाउनुहोस



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्पपछिको पुर्ननिर्माणको काम सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिलगर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आव्हान गरेका छन् ।

एसियाली विकास बैंकको ५२ औं बोर्डस अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा आयोजित कार्यक्रममा मन्त्री डा् खतिवडाले यस्तो आव्हान गरेका हुन् । मन्त्री डा.खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण भएको सुधारको बारेमा जानकारी गराए ।

उनले दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको भएपनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने सम्भावना हुँदा हुँदै पाँच प्रतिशत भन्दामाथि पुग्न नसकेको बताए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थ मन्त्रीहरुको १३ औं बैठकमा मन्त्री डा. खतिवडाले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको उल्लेख गरे ।

दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमा लगातार तेस्रो बर्षसम्म ६ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि हासिल गर्न सफल भएको उल्लेख गरेका छन् । उनले लगातार उच्च आर्थिक बृद्धि हासिल गरिरहँदा ब्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको भन्दै आगामी दिनमा उच्च आर्थिक बृद्धि र वाह्य क्षेत्र सन्तुलनका बीच सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने जानकारी गराए ।

बिहीबार एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीहरुसँग भेट भएको छ ।


क्लिकमान्डु