रसुवागढी र साञ्जेनको सेयर बाँडफाँड, कसले कति पाए ?
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको सेयर उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बाँडफाँड भएको छ । गत बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरेको साधारण सेयर बिहीबार मन्त्रालयमा बाँडफाँड भएको हो ।
रसुवागढी हाइड्रोपावर कम्पनीमा आवेदन दिएका आवेदकले अधिकतम ५० सम्म सेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै सेयर पाएको बताइएको छ । ४० कित्ताभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्ताहरुले ४० कित्ताका दरले सेयर बाँडफाँड गरी बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता सेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरी ५० कित्ता बाँडफाँड भएको छ ।
रसुवागढीको साधारण सेयरमा एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको लागि ३ लाख २ हजार ३४३ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ । यस्तै साञ्जेन जलविद्युत कम्पनीमा आवेदन दिएका आवेदनकर्तामध्ये १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै सेयर परेको छ । २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये दुई लाख ९ हजार ३२८ आवेदकलाई गोलाप्रथाबाट थप १० कित्तासहित २० कित्ताका दरले सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
साञ्जेनको साधारण सेयरमा आवेदन दिएका २ लाख ८८ हजार ७९७ जना मध्ये १० कित्ताका दरले २८ लाख ८८ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी २० लाख ९३ हजार २८० कित्ता सेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ता दिइएको छ ।