काठमाडौं उपत्यका भित्रका पेट्रोलपम्प बन्द गर्न सांसद्को माग, सुरक्षा चुनौती बढ्यो



काठमाडौं । सांसदहरुले उपत्यका भित्र मापदण्ड विपरीत रहेका पेट्रोलपम्प तत्काल हटाउन आग्रह गरेका छन् ।

बिहीबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् ।

बैठकमा सांसद किसन श्रेष्ठले पेट्रोप पम्पका कारण उपत्यका निकै रिक्स जोनमा रहेको भन्दै सबै पम्पलाई चक्रपथ बाहिर सार्न आग्रह गरेका छन् । यस अघि नै सबै पेट्रोल पम्पहरु चक्रथप बाहिर लैजाने र तोकेको मापदण्ड पुरा गरेर मात्र राख्ने भनेपनि त्यो काम अहिलेसम्म किन हुन नसकेको भन्दै हुन नसक्नुको कारण बारे जानकारी गराउन नेपाल आयल निगमलाई आग्रह गरेका छन् ।

पछिल्लो समयमा उपत्यकामा मात्र नभएर उपत्यका भित्र पनि रहेको सबै पम्पहरुले तोकेको मापदण्ड पुरा नगरेको भन्दै मापदण्ड पुरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।

अहिलेसम्म मापदण्ड नै पुरा नगरी पम्पहरुले कसरी इन्धन बिक्री गरेको प्रश्न गर्दै उनले भोली कुनै समस्या सृजना भएको खण्डमा त्यसको जिम्मेवारी निगम हुनुपर्ने तर्क गरे ।
बैठकमा सांसद भिमसेनदास प्रधानले उपत्यका भित्र रहेका पम्पहरुमा अनुगमन नहुनु निकै चिन्ताको विषय भएको बताए । उनले भने,‘ प्रहरी प्रधान कार्यालय, आर्मी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालय सँगै पम्प राख्नु कतिको उचित हो, सुरक्षाको दृष्टिले यो राम्रो हो ? मापदण्ड कता गयो, यस्ता संवेदनशिल ठाँउमा कुनै घटना भयो भने कसले जिम्मेवारी लिन्छ ।’

बैंठकमा सांसद देवेन्द्र पौडेलले उपत्यका भित्रका सबै पम्पमा निकै समस्या रहेको दाबी गरे । उनले भने ‘हामीले उद्योगीको आवश्यकता हेर्ने हो की, सुरक्षा, मापदण्ड र उपभोक्ताको आवश्यकता हेर्ने हो, यसमा ध्यान जान जरुरी छ ।’

सांसद पौडेलले इन्धनको लागि एक मात्र देशमा भर पर्न नहुने भन्दै सबैको सहजताका लागि दुवै छिमेकी देशसँग समन्वय गरेर जान आवश्यक रहेको बताए ।

अर्का सांसद प्रकाश रसाइलीले उपत्यका भित्र मापदण्ड विपरीत रहेका सबै पम्प तत्काल हटाउन माग गरेका छन् । उनले भने, ‘कालिमाटीमा रहेको पम्प नजिकै खोलामा पुल बनिसकेको छ,पम्प सडकको बीचमै छ, त्यसलाई किन नहटाएको ।’


क्लिकमान्डु