६ हजार जनाले लिए युजरनेम, दैनिक ४५ सयले गर्छन अनलाइनमार्फत सेयर कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन प्रणाली सुरु गरेको ५ महिनामा ६ हजारभन्दाबढी लगानीकर्ताहरुले यूजर नेम र पासवर्ड लिएका छन् ।

मंसिर २३ गते यता अनलाइनमार्फत कारोबार गर्न यूजर नेम र पासवर्ड लिएका ६ हजार जनामध्ये दैनिक औसतमा ४५ सयको हाराहारीमा लगानीकर्ताले अनलाइन प्रयोग गरिरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

‘अहिले दैनिक औसतमा ४५ सयले अनलाइनमार्फत कारोबार गरिरहेका छन, कुनै दिन त्योभन्दाबढीले अनलाइनमार्फत सेयर कारोबार गर्छन’ उनले भने ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ अनुरुप सदस्य दलालसँग सम्झौता गरेका ग्राहकलाई नेप्सेले मंसिर २३ गतेदेखि ब्रोकरमार्फत सेयर लगानीकर्ताहरुलाई अनलाइनको युजर नेम र पासवर्ड दिन सुरु गरेको थियो । त्यस्तै पुस १६ गतेदेखि सबै लगानीकर्तालाई युजर नेम र पासवर्ड दिन सुरु गरेको थियो । अहिले लगानीकर्ताहरुले ब्रोकर कार्यालयबाटै अनलाइनको यूजर नेम र पासवर्ड लिन सक्छन् ।

लगानीकर्ताहरुले युजर नेम र पासवर्ड लिनुअघि अनलाइन कारोबारका लागि ब्रोकरसँग सम्झौता गर्नुपर्छ । त्यसपछि मात्र यूजर नेम र पासवर्ड पाइन्छ ।
नेप्सेले लगानीकर्ताहरुलाई अनलाइनको प्रयोग कसरी गर्ने भनेर करिब ५ सय जनालाई तालिम समेत दिएको थियो । नेप्सेले उपत्यकामा मात्र नभएर सातै प्रदेशमा तालिम दिइसकेको छ ।

यता नेप्सेले लगानीकर्ताहरुलाई तालिम दिनुका साथै आफैले बुझ्नका लागि भिडियो पनि बनाएको छ । यसको सहायताले पनि अनलाइन प्रयोगको बारेमा सिक्न सकिने पराजुलीले बताए ।

अहिले सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता छन् । तर सक्रिय लगानीकर्ता औसतमा साढे दुईदेखि तीन लाखको हाराहारीमा रहेको नेप्सेको भनाइ छ ।

लगानीकर्ताहरुले समयमा नै अनलाइन नआएका कारण सेयर बजारको विकास हुन नसकेको आलोचना भए पनि अनलाइन प्रणाली सुरु भएको ५ महिना बितिसकदा समेत युजर नेम र पासवर्ड लिनेको संख्या न्यून छ । केही समय अघि अनलाइनमा केही प्राविधिक त्रुटी देखिएको थियो ।

अहिलेसम्म पनि लगानीकर्ताहरु अनलाइन प्रयोग गर्नु भन्दा पनि ब्रोकर कार्यालयमा जाने वा फोनबाट नै अर्डर दिएर कारोबार गर्नतर्फ नै उद्धत देखिएको नेप्सेको आंकलन छ ।

अनलाइनको यूजर नेम र पासवर्ड तत्काल चाहियो भन्दै मंसिर १० गते लगानीकर्ता सम्बन्धी संघ संस्थाका प्रतिनिधिले नेप्से कार्यालय घेराउ समेत गरेका थिए । लगानीकर्ताले सेयरका विज्ञलाई समेत हातपात गरेका थिए ।

उनीहरुले त्यो समयमा बजारको विकास र विस्तारमा अवरोध गर्नेहरुले अनलाइनको यूजर नेम र पासवर्ड दिन आनाकानी गरेको आरोप लगाएका थिए । लगानीकर्ताहरुले अनलाइनको यूजर नेम र पासवर्ड तत्काल दिए बजार बढ्ने समेत उनीहरुले दाबी गरेका थिए ।

नेप्सेले अनलाइन प्रणाली सुरु गरेपनि सबै लगानीकर्ताहरुले प्रयोग गर्न नजान्दा समस्या भएको लगानीकर्ताहरुको भनाइ छ । अनलाइन प्रणालीको औपचारिक उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गत कात्तिक २० गते गरेका थिए ।


क्लिकमान्डु