धितोपत्र बोर्डले ल्यायो ६ विशेषतासहितको खुलामुखी योजना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुलामुखी म्युचुअल फन्ड योजना सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले एनअइबीएल सहभागिता फन्डलाई ५० करोड रुपैयाँको ५० लाख ईकाइ बिक्री गर्ने अनुमति दिएको जनाएको छ ।
बोर्डले चालु आव २०७५–०७६ को नीति तथा कार्यक्रममा रहेको व्यवस्था अनुसार खुलामुखी म्युचुअल फन्ड योजना सञ्चालन गर्न अनुमति दिएको जनाएको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली जारी भएयता करिब १६ अर्ब रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना सञ्चालनका लागि अनुमति दिएको जनाएको छ ।
खुलामुखी योजनाकाका विभिन्न ६ वटा बिशेषता रहेका छन् । जसमा बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने, योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने रहेकाे छ । यस्तै खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने, लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने, बन्दमुखी योजना जस्तै खुला मुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम एक हजार रुपैयाँसम्ममा इकाई खरीद गर्न सकिने र लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने रहेको छ ।
खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग पुग्ने बोर्डले जनाएको छ । धितोपत्र बजारमा नयाँ आयाम थप हुने र हाल अन्य खुलामुखी योजना समेत आउने क्रममा रहेकोेमा यसबाट बजारको दायरा फराकिलो हुन सहयोग पुग्ने बोर्डले विश्वास लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।