प्रतिकित्ता २८० रुपैयाँ नेपाल बैंकमा हाल्न डराएका लगानीकर्ता ३१५ रुपैयाँ खरिद गर्न थाले, बैंकले कति दिन्छ लाभांश ?
काठमाडौं । असार १५ गतेदेखि नेपाल बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) प्रति कित्ता २८० रुपैयाँका दरले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
त्यो समयमा लगानीकर्ताहरुले आवेदन दिन निकै आनाकानी मात्र गरेनन्, बिक्री प्रबन्धकले किन्न नसकेर सब अण्डर राइडर नै खडा गरेर बिक्री गर्नुपरेको थियो । बैंकले सरकारको हिस्सा ५१प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न एफपीओ जारी गरेको थियो ।
बिक्रीका लागि आवेदन खुला गरे अनुसारको सेयर बिक्री नभएपछि आवेदन दिएका लगानीकर्ताहरु नै गतिलो कम्पनीमा आवेदन दिइएनकी भन्दै पछुताएका थिए । कतिपयले त सरकारी बैंकको सेयरमा लगानी गरेर कति नाफा होलार समेत भनेर अडकलबाजी गरेका थिए ।
त्यो समयमा जसले उक्त कम्पनीको सेयरमा आवेदन दिन आनाकानी गरेका थिए, ती लगानीकर्ता यतिबेला प्रति कित्ता ३५ रुपैयाँ कमाउनबाट बन्चित भएका छन् । आइतबारसम्म आईपुग्दा नेपाल बैंकको सेयर प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको छ ।
नेपाल बैंकको सेयर मूल्य मात्र नबढेर कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा रकमका आधारमा हेर्दा नेपाल बैंक अग्रस्थानमा रहेको देखिएको छ । यो दिन नेपाल बैंकको २३ करोड १९ लाख ६० हजार ७५० रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकले अहिलेसम्म लगानीकर्ताहरुलाई कुनै पनि लाभांश दिएको छैन । लाभांश नै नदिएपनि लगानीकर्ताहरुको चाम भने बढी नै रहेको देखिएको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा बैंकले १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड ६८ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
३३ रुपैयाँ ८७ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ ३०० रुपैयाँ २८ पैसा रहेको थियो ।
बैंकले पुरानो ऋण समेत अहिले उठाउदै गएको छ । जसको कारण बैंकको नाफा बढ्ने छ । बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृत पद भने खाली छ । तेस्रो त्रैमासमा बैंकको रिपोर्ट भने आकर्षक आउने अनुमान छ ।
गत साता नेपाल बैंकको ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।