गभर्नर र सेबोन अध्यक्षबीच सम्बन्ध चिसिएकै हो ? राष्ट्र बैंकले बोलाएको कार्यक्रममा कार्की गएनन्



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका लागि सुझावका लागि अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

आज आयोजित कार्यक्रममा नियामक निकायका अधिकारीहरुलाई पनि बोलाइएको थियो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँई, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई अतिथिको रुपमा बोलाइएको थियो ।

कार्यक्रममा बोलाइएका अध्यक्ष कार्कीलाई ड्यासमा बस्न कार्यक्रम प्रस्तोताले बोलाए पनि उनी त्यहाँ देखिएनन् । उनलाई प्रस्तोताले बोलाउँदा नदेखिएपछि त्यो ठाँउ खाली नै रह्यो । कार्यक्रममा अन्तिमसम्म पनि कार्की कार्यक्रम स्थलमा देखिएनन् ।

क्लिकमाण्डूले धितोपत्र बोर्डमा सम्पर्क गर्दा कार्कीको बुधबार अन्य कार्यक्रम थिएन । ‘अध्यक्ष ज्यूको त्यस्तो व्यस्त तालिका थिएन,आफु नगएपनि अरुलाई पठाउने चलन हो,सायद गभर्नरसँगको सम्बन्ध अलि चिसो भएको कारण कार्यक्रममा नगएको हुनसक्छ,’धितोपत्र बोर्डको स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

विगतका वर्षहरुमा बजेट र मौद्रिक नीति ल्याउनु अगाडि राष्ट्र बैंकले गर्ने कार्यक्रममा कार्की पुगेर सुझाव दिने गरेका थिए ।

अध्यक्ष कार्की यस्ता अन्य कार्यक्रमहरुमा देखिने गरेका हुन्छन् । तर आज राष्ट्र बैंकले सुझाव लिन आयोजना गरेको कार्यक्रममा भने उनी नदेखिनुलाई निकै गम्भिरताका हेरिएको छ ।

गभर्नर नेपाल र अध्यक्ष कार्की दुवैजना सैद्दान्तिक रुपमा हेर्ने हो भने नेपाली काँग्रेस निटक हुन् । फरक राजनीतिक धारको हुँदा वैचारिक लगायतका विषय नमिल्ने भएर कार्यक्रममा आएनन्, उनीहरुको बिचार राजनीतिक रुपमा मिलेन की भनेर भन्ने आशंका हुन्थ्यो । तर दुवै जना एउटै पार्टी निकटका व्यक्ति हुन ।

पछिल्लो समयमा नेपाल र कार्कीको सम्बन्ध खासै राम्रो नभएको उनीहरु निकटको भनाई छ । संसदीय समिति अन्तर्गतको अर्थ समितिका बैठकमा पनि दुवै जना बीच समय समयमा विभिन्न विषयमा घोचपेच नहुने गरेको पनि हैन ।

पहिला जे जस्ता घटना भएपनि आगामी आवको बजेटमा सुझाव दिन बोलाउँदा नजानुलाई कार्कीको सन्की पनको रुपमा पनि लिइएको छ । यसअघि राष्ट्र बैंकले गरेका कार्यक्रममा कार्की आफै नगएपनि बोर्डका कार्यकारी निर्देशकलाई पठाउने गरेका कार्कीले आगामी आवको बजेटको सुझावका लागि भने बोर्डबाट कुनै पनि प्रतिनिधि नपठाएको कार्यक्रम स्थलमा नै चर्चा चलेको थियो ।

पदिय रुपमा हेर्ने हो भने डा. कार्की यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशकको रुपमा रहेका थिए भने गभर्नर नेपाल यस अघि बोर्डको अध्यक्ष समेत भएका व्यक्ति हुन ।

दुवैलाई शुसील कोइराला नेतृत्वको सरकारले नियुक्त गरेको हो । कांग्रेस सरकारले दिएका नियुक्तीमा ठूला पदहरुमा राष्ट्र बैंकका गभर्नर नेपाल र धितोपत्र बोर्डका अध्यक्ष कार्की मात्र बाँकी रहेका छन् ।

दुवैको पदावधी २०७६ सालमा सकिन्छ । कार्कीको पदावधी भदौमा सकिने छ भने गभर्नर नेपालको पदावधी चैतको पहिलो साता सकिने छ ।


क्लिकमान्डु