सिडिएससिको सफ्टवेयरमा समस्या आएपछि सान्जेन र रसुवागढीको सेयर भर्ने समय थपियो
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीको सेयरमा आवेदन दिने समयावधि दुई दिन थप भएको छ ।
सिडिएससिको सफ्टवेयरमा आएको समस्याका कारण समय थपेको दुवै कम्पनीले जनाएका छन् । सिडिएससिको सफ्टवेयरमा आएको समस्याका कारण लगानीकर्ताहरुले धितोपत्र बोर्डमा सेयर भर्न नपाएको भनी गुनासो गरेपछि बोर्डको निर्देशन बमोजिम दुई दिन समय थपेको बताइएको छ ।
सान्जेनले प्रति कित्ता एक सय रुपैयाँका दरले ५४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।
यस्तै रसुवागढीले प्रति कित्ता एक सय रुपैयाँका दरले १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । दुवै कम्पनीले वैशाख ६ गतेदेखि १० गतेसम्म आवेदन खुला गरेका थिए । अब लगानीकर्ताहरुले भोली (१२) गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।