नयाँ वर्षको पहिलो काराेबारमा कारोबार रकमलाई प्यानले बनायो प्यानिक
काठमाडौं । नयाँ वर्षमा सेयर कारोबार भएको पहिलो दिन कारोबार रकमलाई प्यानले प्यानिक बनाएको छ ।
केहि दिन यता बजारमा करोबार बिस्तारै बढ्दै गएपनि सोमबार भने नेप्से सूचक सामान्य वृद्धि हुँदापनि कारोबार रकममा भने सुधार आउन सकेन । कारोबार रकममा सुधार आउन नसक्नुको कारण प्यान भएको लगानीकर्ताहरुको बुझाई छ ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि उक्त बुझाईमा सामान्यतया सममत छिन् । उनका अनुसार पाँच लाख भन्दा एक रुपैयाँ पनि बढीको कारोबार गर्न प्यान अनिवार्य छ, प्यान बिना सम्भव छैन । त्यसले कारोबार रकममा केही असर भने पुर्याएको हो । लगानीकर्ताहरुले प्यान लिन नसकेकोले समस्या भएको उनको भनाई छ ।
अहिले उपत्यका भित्रै पनि भन्नासाथ प्यान लिन सम्भव नभएको र उपत्यकाबाहिर पनि प्यान लिन समय लाग्ने गरेको उनको तर्क छ ।
आज लगानीकर्ताहरुले सेयर खरिद वा बिक्री गर्दा पाँच लाख भन्दा बढीलाई प्यान लाग्ने भएकाले कारोबार रकम घटेको पोखरेलेको भनाई छ । उनले भनिन्,‘पाँच लाख भन्दा बढीको सेयर बिक्री वा खरिद गर्दा प्यान अनिवार्य भएको छ, पाँच लाख भन्दा थोरै बढी भएपनि प्यान चाहिहाल्छ, त्यसैले कतिपय प्यान नभएका लगानिकर्ताहरुले कारोबार गरेनन् । किन्ने वा बेच्नेले त्यो भन्दा कम रकमको किनबेच गर्न सक्ने भएपनि लगानीकर्ताहरुले त्यसतर्फ ध्यान नदिएको हुनसक्छन् ।’
आज नयाँ वर्षको र प्यान लागु भएपछिको पहिलो कारोबार भएर पनि कम हुनसक्ने भन्दै आगामी दिनमा यो बढेर जाने उनको विश्वास छ । प्यानको बारेमा लगानीकर्ताहरु युजटु हुन थालेपछि यो समस्या समाधान हुँदै जाने पोखरेलको भनाई छ ।
सोमबार नेप्से सूचक ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा पुगेको छ ।
यो दिन १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता सेयर ३० करोड ४५ लाख ७६ हजार ७८२ रुपैयाँमा किनबेच भएको छ ।
दशवटा उप समूहको कारोबार हुँदा बैंंकिङ ५.८९,होटल २२.४९, विकास बैंक ४.१३, निर्जीबन बीमा कम्पनी ६.९५, उत्पादन तथा प्रशोधन १०.३५ र माइक्रोफाइनान्स ४२.४४ अंकले बढेको छ । बाँकीको कारोबारमा गिरावट आएको छ ।
यो दिन कारोबार रकमको आधारमा नेको इन्स्योरृेन्स अग्रस्थानमा देखिएको छ । नेकोको २ करोड ७५ लाख ५० हजार २०१ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।
यो दिन एभरेष्ट इन्स्योरेन्स, साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था,निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन भने गुमाउनेमा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् ।