बैंकर्स संघका अध्यक्ष भन्छन्- अब कर्जाको ब्याज घट्छ



काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले केही दिनमा नै कर्जाको ब्याज घट्ने बताएका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौँ बैङ्क खाता अभियान कार्यक्रममा ढुङ्गानाले यस्तो बताएका हुन ।

उनले यो वर्ष साढे तीन देखि ४ करोड बैङ्क खाता खोल्ने र अहिले नै २ करोड ६८ लाख खाता खोलिएको बताए । चालु आर्थिक वर्ष भित्रका सबै स्थानीय तहमा बैङ्कको शाखा पुगी सक्ने भएकाले बैङ्कमा खाता खुल्ने क्रम बढ्ने उनको भनाई छ ।

अध्यक्ष ढुङ्गानाले बैङ्कहरूमा लगानीयोग्य रकमको अभाव भइरहेको समयमा खाता बढ्दा पुँजी निर्माणमा पनि सहज हुने बताए । अहिले कर्जामा ब्याज बढेको गुनासो आएको भन्दै उनले ५ प्रतिशत मूल्यवृद्धि हुँदा ब्याज १०,१२ प्रतिशत हुनु सामान्य भएको बताए । उनले छिमेकी मुलुकको तुलनामा नेपालमा ब्याज सस्तो रहेको उनले जानकारी गराए ।


क्लिकमान्डु