हुरीको कारण निर्जीवन बीमा कम्पनीमा १ अर्ब दाबी पर्ने अनुमान, यी कम्पनीलाई बढी दवाव



काठमाडौं । गत आइतबार पर्सा र बारा जिल्लामा गएको हावाहुरीको कारण १ अर्ब रुपैयाँसम्मको बीमा दाबी पर्ने प्रारम्भिक अनुमान बीमा कम्पनीले गरेका छन् ।

मुख्य रुपमा उद्योग प्रतिस्ठानमा भएको क्षतीको बीमा भएपनि सर्वसाधारणको घरको बीमा भएको छैन । जीवन बीमा तर्फ अत्यन्त न्यून दाबी पर्ने अनुमान गरिएको छ ।

पर्सा र बारामा रहेको एक दर्जनभन्दा बढी उद्योगमा क्षती पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष गणेश लाठले पीडितको राहत र उद्दारमा केन्द्रीत हुनु परेको हुँदा उद्योग प्रतिस्ठानमा भएको वास्तविक क्षतीको विवरण नआएको बताए ।

‘पहिलो प्राथमिकता राहत र उद्दार भएको हुँदा अबको केही दिनमा उद्योग व्यवसायमा भएको क्षतीको विवरण आउने छ,मेरो आफ्नै उद्योगमा पनि क्षती भएको छ,’उनले भने ।

विरगन्ज उद्योग वाणिज्य संघले क्षतीको विवरण संकलन गरिरहेको छ । विरगन्ज उद्याृेग वाणिज्य संघका प्रशासयिक अधिकृत मनोज उपाध्यायले उद्योगहरुमा क्षति भएपनि यसको विवरण भने नआएको बताए ।

‘हावाहुरी प्रभावित क्षेत्रका उद्योगहरुमा ठूलो क्षती भएको छ,कति रकमको क्षति भयो त्यसको विवरण आएको छैन,’उपाध्यायले भने ।

मुख्य रुपमा चाचान ग्रुप,रुँगटा समुहको उद्योगहरुमा क्षती भएको छ । हावाहुरी प्रभावित भएको क्षेत्रमा चाचान ग्रुपको उद्योग रहेको हुँदा सो समुहका उद्योगमा बढी क्षती भएको छ । तर,कति रकमको क्षति भएको हो त्यसको विवरण भने आएको छैन ।

रुगंटा ग्रुपका आकाश रुंगटाले आफ्नो उद्योगहरुमा क्षती भएपनि आर्थिक रुपमा भएको क्षतीको हिसाब निकाल्न भने अझै समय लाग्ने बताए ।

आर्थिक रुपमा भन्दा पनि समयको क्षती बढी हुने देखिएको उनले बताए । उनको उद्योगको सिट तथा उद्योगको टावरमा क्षती भएको छ । ढलेको टावरलाई हटाउनको लागि क्रेन ल्याउनुपर्ने उनले बताए ।

ओरियन्टल र नेशनललाई बढी दवाव

बीमा क्षेत्रका व्यक्तिहरुका अनुसार सो क्षेत्रमा बढी बीमा भारतीय कम्पनीका शाखा अन्तर्गत संचालिन रहेका ओरियन्टल र नेशनलको व्यवसाय बढी थियो ।

‘ओरियन्टल र नेशनलको बिजनेश अरुको भन्दा सो क्षेत्रमा बढी भएको हुँदा दाबी भुक्तानी पनि तिनै कम्पनीमा बढी पर्ने हुन्छ,अन्य कम्पनीको बिजनेश त्यती राम्रो थिएन,’एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

बीमा समितिले छिटोभन्दा छिटो बीमा दाबी भुक्तानीलाई सहजिकरण गर्नको लागि बीमा कम्पनीलाई आग्रह गरेको छ ।

हाबाहुरीबाट मृत्यु हुनेहरुको जीवन बीमा भने नभएको अहिलेसम्मको तथ्यांकले देखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा गर्नेहरु खासै नदेखिएको आजसम्मको विवरणले देखाएको बताए ।

‘जीवन बीमा गर्नेको भुक्तानी छिटो गर्न हामीले कम्पनीहरुलाई निर्देशन दिएका थियौ,तर,सो क्षेत्रमा जीवन बीमा गर्नेको हावाहुरीबाट मृत्यु भएको आजसम्म विवरण आएको छैन,’पौडेलले भने । खास गरेर आर्थिक रुपमा न्यून आय भएका व्यक्तिहरुको मृत्यु भएको हुँदा जीवन बीमा नभएको अनुमान बीमा कम्पनीको छ ।
निर्जीवन तर्फ भने उद्योगहरुको मात्र बढी दाबी पर्ने छ ।


क्लिकमान्डु