फेसबुकको आलोचना बढेपछि जुकरवर्गले नियमनमा सहयोग गर्न सरकार गुहारे



काठमाडौं । फेसबुकका प्रमुख मार्क जुकरवर्गले इन्टरनेटमा हुने खतरनाक विषयवस्तु नियन्त्रण गर्न आफु एक्लैलाई चुनौति भएको र यसमा सरकारले नियम बनाएर सहयोग गर्नुपर्ने बताएका छन् ।

वासिङटन पोष्टको ओ–पेड पोजमा प्रकाशित लेखमा उनले विशेष गरी चारवटा क्षेत्रमा नयाँ कानुन बन्नु पर्ने धारणा व्यक्त गरेका छन । नयाँ कानुन आवश्यक रहेका चार क्षेत्रमा हार्मफुल कन्टेन्ट, इलेक्सन इन्टिग्रिटी, प्राइभेसी एण्ड डाटा पोर्टेविलिटि रहेका छन ।

न्युजिल्याण्डको चर्चमा आक्रमण गर्दा बन्दुकधारीले आक्रमणको लाइभ देखाएको दुई सातापछि फेसबुक प्रमुख जुकरवर्गको उक्ता धारणा बाहिर आएको हो ।

जुकरवर्गले प्राविधिक कम्पनीहरुलाई पनि टेवा पुग्ने खालको नयाँ नियम आफुले देख्न चाहेको समेत प्रष्ट पारेका छन् । यदि त्यसो हुन सकेमा खतरनाक विषयवस्तु अत्यन्तै छिटो प्रसारण हुने पक्ष नियन्त्रण गर्न सजिलो हुने उनले बताएका छन् ।

न्युजिल्याण्डमा भएको चर्च आक्रमणको लाइभ भिडियो अत्यन्तै छिटो संसारभर फैलिएको र त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै फेसबुकको निकै आलोचना हुँदै आएको छ । उक्त भिडियो हटाउन नपाउँदै अत्यन्तै छोटो समयमा १५ लाख पटक कपि गरिएको थियो ।

पछिल्लो समय विभिन्न काण्डमा फेसबुकको आलोचना हुन थालेपछि फेसबुक प्रमुख मार्क जुकरवर्गले ती विषयवस्तु सम्बोधन गर्ने दायित्व फेसबुकको भएको र ती कुरा समाधान गर्न आफु विश्वभरका कानुन निर्मातासँग छलफल गर्ने आफ्नो इच्छा भएको प्रष्ट पारेका छन् ।


पुष्प दुलाल