सेयरमा कारोबारमा प्यान: राजस्व कार्यालय सक्रिय हुनुपर्नेमा किन अघि सर्यो धितोपत्र बोर्ड ?



काठमाडौं । आगामी वैशाख १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढी सेयर खरिद बिक्री गर्दा अनिवार्य प्यान लाग्ने भएको छ ।

वैशाखदेखि प्यान अनिवार्य भनेपछि सेयर बजारमा प्यान आवश्यक भएपनि बजार घटिरहेको समयमा भन्दा पनि केही समयपछि लगाउन लगानीकर्ताहरुले पटक–पटक आग्रह गर्र्दै आएका थिए ।

लगानीकर्ताहरुले जति नै आग्रह गरेपनि सरकारले वैशाखदेखि प्यान अनिवार्य गरेको छ । प्यान कति र कहिलेदेखि लगाउने भन्ने विषय आन्तरिक राजश्व विभागको भएपनि अहिले सबैभन्दा बढी आलोचनाको पात्र भने धितोपत्र बोर्ड भएको छ ।

सेयर बजारको नियामक निकाय बोर्ड भएकाले सामान्य जानकारी मात्र गराएको भए अहिले बोर्डको यति आलोचना नहुने त्यहाँका कर्मचारीहरु बताउँछन् ।

बोर्डले प्यानको विषयमा आवश्यकताभन्दा बढी चासो लिएकाले आलोचनाको पात्र उनीहरुको ठहर छ ।

‘बोर्डको नेतृत्वले बजारका लागि कत्ति न राम्रो काम गर्यांै भनेर हत्तारोमा पटक–पटक यस विषयमा बोल्यो, त्यो ठूलो गल्ती थियो, त्यो हाम्रोभन्दा पनि राजश्व विभागको काम हो, यसमा राजश्वलाई नै छोडेको भए हाम्रो यतिधेरै आलोचना हुने थिएन,’ बोर्डका एक उच्च कर्मचारीले क्लिकमाण्डूसँग भने ।

बोर्डले अन्तिम पटक ‘स्थायी लेखा नम्बर अनिवार्य सम्बन्धमा स्पष्ट गरिएको बारे’ भन्ने सूचना आवश्यक नै नभएको उनको तर्क छ ।

बोर्डका कर्मचारीको जस्तै धारणा राख्छन्, सेयर बजारको जानकार निरब पुडासैनी ।

‘प्यान लगाउनु आफैंमा राम्रो विषय हो तर अन्तिम पटक आएको विज्ञप्ति बोर्डले निकाल्नु आवश्यक नै थिएन, त्यो एकदमै बचपना भयो, बोर्ड आफैले यतिसम्म प्यान लाग्ने, यतिभन्दा बढीमा नलाग्ने भनेर भन्दै हिँडनु कत्तिको जायज होला ?’ पुडासैनीले क्लिकमाण्डूसँग भने, ‘ बोर्डको विज्ञप्ति हेर्दा त ५ लाख रुपैयाँभन्दा कम पैसालाई अवमूल्यन गरिएको छ । यो गर्नु हुँदैन थियो ।’

बोर्डले ५ लाख रुपैयाँभन्दा माथि वा मुनि भनेर तोक्न नहुने तर्क छ ।

बोर्डले अन्तिम पटक सूचना जारी गर्दै एक पटकमा ५ लाख वा सो भन्दा बढीको कारोबार गरेमा मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने जनाएको छ ।

बोर्डले यस्तो निर्णयले प्यान नलिनेहरुलाई निकै फाइदा भएको एक लगानकिर्ताको भनाई छ । बोर्डले नै अहिले लगानीकर्ताहरुलाई निकै सजिलो बताएको ती लगानीकर्ताको भनाई छ ।


पुष्प दुलाल