साताको सेयरः एक अर्ब ९३ करोडको कारोबार, कुन-कुन कम्पनीका सेयर भए सूचीकृत ?
काठमाडौंः धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता सेयर एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर सेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता सेयर नौ करोड ३८ लाख रुपैयाँको कारोवार भए ।
साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो । सो दिन कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता सेयर ४० करोड २८ लाख ४० हजार २१३ रुपैयाँ मा खरीद बिक्री भए ।
यस्तै साताको तेस्रो दिन मङ्गलबार कूल १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता सेयर ५२ करोड ७७ लाख ३५ हजार ५५८ रुपैयाँमा खरीद बिक्री भए । साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० बिन्दुमा झर्यो । त्यो दिन कूल १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता सेयर कारोवार भए । स्टकका अनुसार सो दिन ४२ करोड ८३ लाख ४१ हजार १५२ रुपैयाँमा खरीद बिक्री भए ।
यस्तै साताको पाँचौं दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता सेयर ४८ करोड ५८ लाख ७७ हजार ९३१ रुपैयाँमा खरीद बिक्री भए ।
यस साता स्टकमा विभिन्न चार कम्पनीका सेयर सूचीकृत भए । सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५५९ कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७१२ कित्ता साधारण शेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण सेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद सेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ ।