१० अर्ब ५४ करोडको लगानीमा गाडी बनाउने कारखाना खुल्ने



काठमाडौँ । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपीडीसी) लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ । सो कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

उक्त बैठकले लगानी बोर्ड कार्यालयले आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने ६३ वटा परियोजनाको सूची स्वीकृत गरेको जनाएको छ । ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए । उनले उक्त सम्मेलनलाई अर्थपूर्ण बनाइ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिए ।

सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिए । त्यस अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराए ।


क्लिकमान्डु