सेयर बजारमा प्रधानमन्त्री ओलीको ईन्ट्रिले उक्सेलान् त डुबेका लगानीकर्ता ?



काठमाडौं । चैत पहिलो साता जारी हुन लागेको त्रिशुली जलविद्युृत आयोजनाको सेयरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक लगानी गर्दैछन् ।

प्रधानमन्त्रीले नै लगानी गर्ने भनेपछि अहिले जलविद्युत समूहको सेयरमा निकै चर्चा हुन थालेको छ । यस अघि नै सरकारले हरेक नेपालीलाई जलविद्युतको सेयर मालिक बनाउने घोषणा गरेको छ ।

यति बेला प्रधानमन्त्रीले नै लगानी गर्ने भनेर जलविद्युतमा जति चर्चा भएपनि यसै क्षेत्रको सेयरमा लगानी गरेर डुबेका लगानीकर्ताको संख्या पनि कम छैन । वाम गठबन्धनको सरकारलाई सेयर बजारले नरुचाएको चर्चालाई जलविद्युत समूहको सेयरले त झण्डै प्रमाणीत नै गर्न खोजेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २५ वटा जलविद्युत कम्पनीहरु सूचिकृत रहेका छन् । २५ वटा मध्ये सात वटा कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ता । चुर्लुम्मै डुबेका छन् । लगानीकर्ताले प्रति कित्ता एक सय रुपैयाँमा किनेको सेयर घटेर ७२ रुपैयाँसम्म आइपुगेको छ । अहिले नै लगानीकर्तालाई प्रतिकित्ता २८ रुपैयाँ नोक्सानी परेको छ । सेयर बिक्रीगर्दा लाग्ने कमिशन जोड्दा यो नोक्सानी अझै बढ्छ ।

पुँजी बजारमा जलविद्युत समूहकोे सेयर आउनेक्रम निकै बढेको छ । जलविद्युत समूहको क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण पनि न्यून हुँदै गएको छ । कतिपय जलविद्युृत आयोजनाको सेयरमा त स्थानीयले माग बमोजिम आवेदन दिन समेत छोडेका छन् ।

सरकारले नै घोषणा गरेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो हुन सफल त्रिशुली जलविद्युत आयोजनको सेयरमा लगानीकर्ताको सहभागीता कस्तो रहने हो त्यो त हेर्न बाँकी नै छ । अहिले केही लगानीकर्ताहरु भने साधारण सेयरका लागि आवेदन दिनु, सुचिकृत भइन्जेल कुर्नु भन्दा पनि बजारमा नै साधारण सेयर भन्दा न्यून मूल्यमा सेयर पाउन थालेपछि साधारण सेयर सम्मका लागि पर्खन नपर्ने बताउँन थालेका छन् ।


क्लिकमान्डु