धितोपत्र बोर्डले भन्योः ५ लाख भन्दा बढीको सेयर कारोबार गर्नेलाई वैशाख १ बाट प्यान अनिवार्य



काठमाडौं । धितोपत्र बोर्डले आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णय गरेको छ ।

पाँच लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने बोर्डले निर्णय गरेको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशन अनुसार तथा लगानीकर्ताहरु एंव अन्य सरोकारवालाको सुझाव अनुसार दोस्रो बजारको कारोबारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने अपेक्षा बोर्डले गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले चालु आर्थिक बर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ ।


क्लिकमान्डु