लगानीकर्ताको भावना अनुसार प्यान लगाउने बोर्डको यस्तो छ अन्तिम तयारी



काठमाडौं । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुको मनोभावना अनुसार नै प्यान लगाउने तयारीमा जुटेको छ ।

यसअघि सेयर खरिद गर्नेलाई मात्रै प्यान लगाउने भनिएपनि अब भने बोर्डले सेयर खरिद, बिक्री गर्नेलाई नै प्यान लगाउने भएको हो ।

बोर्डका निकट स्रोतका अनुसार दोस्रो बजारमा कारोबारको सिमा तोकी सेयर खरिद, बिक्री गर्ने दुवैलाई प्यान लागु गर्ने गरी अन्तिम तयारी भएको छ ।

पहिलो चरणमा ५ लाख बन्दा बढी लगानी गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्ने र ५ लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्यानमा प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा प्यान लागु गर्ने बोर्डका एक अधिकारीले बताए । यसअघि वैशाख १ गतेदेखि प्यान लगाउने भनिएपनि लगानीकर्ताको तिब्र दबाबकाबीच समय परिवर्तन हुन सक्ने स्रोतको भनाई छ ।

यतिबेला लगानीकर्ताहरुले सेयर बजारमा कालान्तरमा प्यान लागुहुने नै भएपनि अहिले बजार प्यानिक भएको समयमा लागुगर्नु भन्दापनि यस बारेमा अध्ययन गरेर, यसले लगानीकर्तालाई हुने फाइदा, बेफाइदाको बारेमा जानकारी गराएर केही समय पछि लागु गर्न माग गर्दै आएका छन् ।

लगानीकर्ताहरुले बोर्ड, नेप्से हुँदै अर्थ मन्त्रालयमा समेत पुगेर प्यान वैशाख १ गते नै लागु गर्नु भन्दा पनि केही समय पछि धकेल्न माग गर्दै आएका छन् । सोमबार नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले मन्त्रालयका अधिकारीसँग प्यान लगाउने विषयमा छलफल गरेकी थिईन ।

प्यान लागु गर्नका लागि समय लगायत विभिन्न विषयमा ध्यान दिन आग्रह गरेकी थिईन । मन्त्रालयले सोमबार नै बोर्डलाई पत्र पठाउँदै एक साता भित्र प्यान कसरी लगाउने, कहिलेबाट लगाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी गराउन निर्देशन दिएको छ ।


क्लिकमान्डु