अर्थमन्त्री खतिवडाको एक वर्ष: नेप्से सूचक २५६ अंकले घट्यो
काठमाडौं । गत वर्ष आजकै दिन अर्थात फागुन १४ गते डा. युवराज खतिवडा अर्थमन्त्री भएका थिए । डा. खतिवडा अर्थमन्त्री हुने चर्चासँगै केही सन्तुष्ट थिए भने केही निराश पनि । डा. खतिवडा अर्थमन्त्री भएको दिन सेयर बजारमा १५.७८ अंकले घगिरावट आएको थियो । सेयर बजारले मन्त्री खतिवडालाई रातोहुँदै स्वागत गरेको थियोे ।
विगत लामो समययदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा सुधारको आधा निकै झिनो हुँदै गएको छ । बजार विकास विस्तारका लागि जति नै काम भएपनि सुधारको आशा भने न्यून बन्दै गएका छन् ।
खतिवडा अर्थमन्त्री भएलगत्तै देशको अर्थतन्त्र राम्रो रुपमा अघि बढने आंकलन गरियो । बिडम्बना उनी अर्थमन्त्री भएलगत्तै पुँजी बजारलाई अनुत्पादन क्षेत्र भन्दै गरेको टिप्पणीले भने निकै असर गरेको लगानीकर्ताहरुको बुझाई छ ।
खतिवडा अर्थमन्त्री भएको दिन नेप्से सूचक १५.७८ अंकले घटेर १३५८.९५ बिन्दुमा आइपुगेको थियो । उनी अर्थमन्त्री भएको एक वर्ष पुगेको दिन अर्थात आज नेप्से सूचक ७.१७ अंकले घटेर ११०२.५६ बिन्दुमा आइपुगेको छ । यो अवधिमा बजार २५६.३९ अंकले घटेको नेप्सेले देखाएको छ । यो दिन १६५ कम्पनीको ६ लाख ५३ हजार २८ कित्ता सेयर १६ करोड ५६ लाख ७२ हजार २८५ रुपैयाँमा किनबेच भएको छ ।
दश वटा उपसमूहको कारोबारमा सबै उपसमूह रातो बनेको छ । सबै भन्दा बढी निर्जीबन बीमा समूहको ४५.०२, जीवन बीमा ३१.२४, होटल २६.९४, माइक्रोफाइनान्स १४.३३, बैंकिङ ४.६ अंकले घटेको छ ।
मंगलबारको कारोबारमा कारोबार रकमका आधारमा सबै भन्दा बढी अपर तामाकोशी हाइड्रोपावर रहेको छ । यसको ७५ लाख ९७ हजार ८४१ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र कृषि विकास बैंक रहेका छन् ।
यो दिन सबै भन्दा कमाउनेमा नेशनल हाईड्रोपावर, पुर्णीमा विकास बैंक, गोर्खा फाइनान्स, ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा जोशी हाईड्रोपावर, नाडेप लघुवित्त, हिमालयन डिस्ट्रीलरीका लगानीकर्ता रहेका छन् ।