सेबोन अध्यक्ष कार्कीको व्यवहारप्रति ब्रोकरहरुको घोर आपत्ति



काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरूलाई गरेको व्यवहारप्रति घोर आपत्ति जनाएका छन् ।

बोर्डका अध्यक्ष डा. कार्कीले व्यवसायीहरूको सुशासन तथा क्षमताप्रति गरेको टिप्पणी र प्रतिस्पर्धी बन्न नसकेको भन्दै उनले व्यवसायीहरूलाई लगाएको आरोप प्रति एसोसिशएसनले आपत्ति जनाएको छ ।

स्टक ब्रोकर एसोसिएसनले सोमबार विज्ञप्ति मार्फत कार्कीले लगाएको लाञ्छनाप्रति दुःख व्यक्त गर्दै उक्त आरोप कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण भएको जनाएको छ । कार्कीले व्यवसायीहरूलाई फागुन १० गते छलफलमा बोलाएको र छलफलमा उनी पुरानै शैलिमा प्रस्तुत हुँदै व्यवसायीहरूलाई लगाएको आरोपलाई विषयान्तर गर्न खोज्दै गोलमटोल जवाफ दिएको प्रति पनि एसोसिएसनको आपत्ति छ ।

अध्यक्ष कार्कीले स्वयमलाई महाशत्रुको उपमा दिनु पुँजी बजारको लागि उतुण्डे व्यवहारको एक नमुना भएको एसोसिएसनको ठहर छ ।

व्यवसायीका प्रतिनिधि र बोर्ड अध्यक्षबीच भएको छलफल बारे जानकारी तथा आगामी रणनीति तय गर्न सोमबार बसेको व्यवसायीहरूको पूर्ण बैठकले बजार विकास तथा विस्तारका लागि गर्नुपर्ने कामहरू समयमै नगरेर व्यवसायी माथि अनावश्यक आरोपमा अध्यक्ष रमाउँदा सिङ्गै पूँजीबजार निराश बनेको निष्कर्ष निकालेको जनाएको छ ।

कार्कीको कार्यशैलीले आम लगानीकर्ता तथा व्यवसायीहरूलाई समस्या हुने भन्दै समग्र धितोपत्र बजार नै थप धराशायी हुने प्रति सजग हुन जरुरी भएको एसोसिएसनको ठहर छ ।

बैठकले यस्तो अवस्थाबाट जोगाउँदै धितोपत्र बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि गरिनु पर्ने कामहरूलाई मागपत्रको रूपमा बोर्ड समक्ष प्रस्तुत गर्ने निर्णय गरेको जनाएको छ । माग पुरा गराउन सङ्घर्षको विभिन्न कार्यक्रम अगाडि बढाउने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।

 


क्लिकमान्डु