एक वर्षमा नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्ने, २ कम्पनीसँग सम्झौता




काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटीई सेवा विस्तार गर्नका लागि २ कम्पनीसँग सम्झौता गरेको छ ।

टेलिममले आईतबार सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ‘र्यान’ को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो ।

छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

र्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने टेलिकमले जानकारी दिएको छ । नेपाल टेलिकमले पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो ।

देशभर उक्त सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले को रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरेको हो ।


पुष्प दुलाल