आइफोन बोकेर शान देखाउनुहुन्छ ? चोरिएला नि तपाईका महत्वपूर्ण सूचना



काठमाडौं । एप्पलको आइफोन बोकेको छु भनेर मख्ख नपर्नुस् । त्यही आइफोनले तपाईंको जासूसी गरिरहेको हुनसक्छ । तपाईंको महत्वपूर्ण सूचना तथा जानकारी र सार्वजनिक गर्न नमिल्ने विषय समेत अन्य व्यक्तिः तथा समूहसँग पुगेको हुनसक्छ । आइफोन बोके भनेर शानसँग हिड्नेलाई सोही आइफोनले समस्यामा पारिदिन पनि सक्छ ।

आईफोनले प्रयोगकर्तालाई थाहै नदिई जासुसी गर्न मिल्ने खराबी देखिएको एप्पलले पनि स्वीकार गरेको छ ।

आइफोन फोन बोक्नेले अहिले पनि अहम् व्यक्त गर्ने गर्छन् । झारेझुरे फोन बोेकेको हो र मेरो त आइफोन पो हो त भन्दै अरुलाई गन्दै नगन्ने प्रवृत्ति पनि केही मान्छेमा रहेको छ ।

तर महत्वपूर्ण सूचना एवम् जानकारी नै चोरेर अरुलाई त्यही फोनले समस्यामा पारेपछि मात्रै चेतना आउन सक्छ ।

आईफोन उत्पादक एप्पलले आफ्नो फेसटाइम नामक कुराकानी गर्ने एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ ।

कस्तो कुरा भयो, को सँग कुरा गरियो भन्ने सूचना एवम् जानकारी समेत सो एपले दिन सक्छ । केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको बिबिसीले जनाएको छ ।

गोग्य सूचना चोरेको र चुहिएको भन्ने गुनासो व्यापक रुपमा उठेपछि एप्पलको आलोचना पनि सुरु भएको छ । उसले उक्त समस्या समाधानका लागि सफ्टवेयर अद्यावधिक गर्ने बताएको बीबीसीले जनाएको छ ।

अद्यावधिक नभएसम्मका लागि भने एप्पलले फेसटाइममा एकैपटक दुई जना भन्दा बढी प्रयोगकर्ताले कुरा गर्न मिल्ने सुविधा हटाएको जनाएको छ ।

प्रविधिसम्बन्धी एउटा ब्लगले सार्वजनिक गरेको उक्त समस्या दुवै प्रयोगकर्ताले १२.१ वा त्यो भन्दा नयाँ भर्सनको मोबाइल अपरेटिङ प्रणाली भएको आइफोन प्रयोग गरेको अवस्थामा देखा पर्ने गरेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

समूहमा वार्तालाप गर्दा सो एपले समूहमा निम्ताउन ेबित्तिकै प्रयोगकर्ताले कल नउठाएपनि आफै मोबाइलको माइक्रोफोनलाई सक्रिय गराइदिने गरेको पाइएको छ ।

कल नउठेर घण्टी जान बन्द भएपछि माइक्रोफोन पुनः आफैँ बन्द हुने गरेको पाइएको छ ।

कल काट्दा वा कल आइरहेको बेलामा मोबाइल फोन बन्द गर्दा भने प्रयोगकर्ताको जानकारीबिना छोटो भिडियो कल गर्ने प्रयोगकर्तालाई पठाइने सो ब्लगले बताएको बिबिसीले उल्लेख गरेको छ ।

हामीले समस्याका बारेमा थाहा पायौँ र हामीले यसको समाधान निकालेका छौँ जुन यो साता नै अद्यावधिक गरिने छ, एप्पलले अमेरिकामा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेसहित अन्यले फेसटाइमलाई निष्क्रिय पार्न सुझाव दिएका छन्। एपलका प्रमुख टिम कूकले नेतृत्व गरेर अमेरिकामा मनाइएको राष्ट्रिय गोपनीयता दिवसकै दिन आइफोनमा रहेको यस्तो गोपनीयता भङ्ग हुने समस्या सार्वजनिक भएको हो ।

हालै लास भेगासमा भएको इलेक्ट्रोनिक्स सम्बन्धी ठूलो व्यापार तथा प्रविधि प्रदर्शनीमा एप्पलले आफ्ना उत्पादनहरूको गोपनीयता सम्बन्धी उच्च क्षमताबारे प्रचार गरेको थियो । जुन झुट देखिएको उल्लेख छ ।

एप्पलले सो प्रदर्शनीमा भाग नलिए पनि नजिकै ठूलो प्रचार सामग्री राखेको थियो जसमा लेखिएको थियो- ‘तपाईँको आइफोनमा जे हुन्छ, त्यो आईफोनमै रहन्छ । तर उसको दावीलाई नै खारेज गरिदिइएको छ पछिल्लो घटनाले ।’


पुष्प दुलाल