नेप्सेका सिइओ साउद र आइटी प्रमुखले गरे लगानीकर्ताको सम्पत्ति डुबाउने काम, कारबाही हुँदैन ?



काठमाडौैं । नेपाल स्टक एक्सचेन्जमा काम गर्ने कर्मचारीको गल्तीको कारण सोमबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका सेयरधनीले कारोबार गर्न पाएनन् ।

नेप्से कारोबारका लागि खुलेको १५ मिनेटमा नै तामाकोशीको सेयर मूल्य ५० प्रतिशत बढेर ३३६ रुपैयाँमा पुगेको थियो ।

धितोपत्र कारोबार बिनियमावली अनुसार कुनैपनि सूचिकृत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्नासाथ सर्किट ब्रेक लागेर कारोबार रोक्नुपर्छ ।

सेयर खरिद र बिक्रीको अर्डर गर्दा अघिल्लो दिनको कारोबारको २ प्रतिशतभन्दा बढेर वा घटेर अर्डर दिन पाइदैन । तर,तामाकोशीमा भने दुईवटा अर्डर बाहेक अरु सबै अर्डर नियमविपरित भएको थियो ।

नेप्सेको सिस्टमले नै अर्डर नलिने व्यवस्था भएपनि सिस्टममा काम गर्ने कर्मचारीले गरेको गल्तीको कारण लगानीकर्ता सम्पत्तिको अधिकारमाथि नेप्सेले खेलबाड गर्यो ।

नेपाल स्टक एक्सचेन्जमा प्रमुख कार्यकारी अधिकृतको रुपमा चन्द्रसिंह साउत छन् । नेप्सेको प्राविधिक प्रमुख निरञ्जनसिंह नायक हुन् ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको दोस्रो बजारमा सेयर कारोबार आइतबारदेखि सुरु भएको थियो । नेप्सेले ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्च दिएको थियो ।

आइतबार कारोबार हुँदा नै खरिदबिक्रीको अर्डर २ भन्दा मूल्य झरेर वा बढेर अर्डर दिन सकिन्थ्यो ।

तर, नेप्सेको सिस्टमले २२४ भन्दा घट्न पनि दिएन बढ्न पनि दिएन । यो समस्याको बारेमा सेयर ब्रोक्ररहरुले नेप्सेमा जानकारी गराएपनि प्राविधिक रुपमा नै यस्तो देखाउने जवाफ नायकले दिएका थिए ।

नेप्से स्रोतका अनुसार सोमबार तामाकोशीको सेयरमा भएको लापरवाही आइटी शाखामा काम गर्ने कर्मचारीको कारण भएको हो ।

‘आइटी शाखामा काम गर्ने कर्मचारीले तामाकोशीको विवरण अपडेट नै गरेनन्, जसले गर्दा मूल्य एकैपटक ५० प्रतिशतले बढ्यो,’ नेप्से स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

नेप्सेले पछि विज्ञप्ती जारी गरेर सोमबार प्राविधिक कारणले रेन्जभन्दा बाहिर गएर भएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर कारोबार रद्द गरिएको जानकारी दियो । त्यो बेलासम्म नेप्सेमा ४७ लाख रुपैयाँको तामाकोशीको कारोबार भएको थियो । भएको कारोबारमा दुईवटामात्र कारोबार तोकिएको सिमाभित्र मात्र भएको छ ।

अर्को तामाकोशी कम्पनीको कारोबारमा गल्ती भने सेयर ब्रोक्ररको पनि छ । नियम अनुसार नै २ प्रतिशतभन्दा तल वा माथी खरिद बिक्रीको लागि अर्डर दिन नहुँने व्यवस्था छ ।

तर, ब्रोक्ररले क्लाइन्टसँग भएको टेलिफोनको आधारमा नै नेप्सेको सिस्टममा अर्डर गरे । यद्यपी सिस्टमले नै २ प्रतिशत भन्दा बढी वा घटीमा अर्डर लिन नसक्ने भएको हुन्छ ।

नेप्सेले विज्ञप्ती जारी गरेर सोमबार तामाकोशी जलविद्युत् कम्पनीको सेयर कारोबार नै हुन दिएन । अर्डर दिने अप्सनबाट तामाकोशीको नाम समेत हटाइदिएको थियो ।

नेप्सेमा प्राविधिक समस्याको कारण लगानीकर्ताको सम्पत्तिमाथि खेलबाड भएको यो पहिलो पटक भने होइन ।

‘नेप्सेले प्राविधिक समस्या भन्दै यस्तो गल्ती गर्दा लगानीकर्ताले सेयर कारोबारप्रति नै विश्वास गुम्छ,यसमा नेप्सेको नेतृत्व गम्भिर भएको देखिएन,’ सेयर बजारका एक लगानीकर्ताले भने ।

नेप्सेले पछिल्लो महिनादेखिनै बोनस र हकप्रद सेयर सूचिकरण हुँदापनि सिस्टममा त्यसलाई सूचिकरण गरेको थिएन । नागरिक लगानी कोषको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढ्दा सर्किट ब्रेक लागेको थिएन ।

‘सेयर बजारको नियम कानून अनुसार नेप्सेको सिस्टम मिलेको छैन,कानून र नियम अनुसार सिस्टम नमिलेपछि यो समस्या आउने छ,’ नेप्सेले स्रोतले भन्यो ।

सेयर बजारमा अनलाइनबाट कारोबार सुरु भएको छ । जसको जिम्मा वाइको भन्ने कम्पनीले लिएको हो । तर, यस्तो समस्याले अनलाइन कारोबारप्रति विश्वास नबढ्ने सेयर बजारका जानकारहरु बताउँछन् ।


पुष्प दुलाल