टिम्बर कर्पोरेशनले ३२७ प्रतिशत बोनस सेयर दिने



काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ ।

टिम्बर कर्पोरेशनको साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको टिम्बर कर्पोरेशनमा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ३८ दशमलव ३१ प्रतिशत, अर्थ मन्त्रालयको ३३ दशमलव ४०, वन मन्त्रालयको चार दशमलव ९१, उद्योग विभागको नौ दशमलव ८१ र वन तथा भू–संरक्षण विभागको नौ दशमलव ८२ प्रतिशत शेयर छ ।

यसबाहेक साधारणसभाले कर्मचारीलाई बोनस ऐनअनुसार बोनस दिने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनले २०५० सालपछि पहिलोपटक कर्मचारीलाई बोनस प्रदान गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा टिम्बर कर्पोरेशनको कुल आम्दानी रु ५० करोड ९८ लाख ४० हजार ४८८ रहेकोे छ । त्यस्तै खुद मुनाफा रु १० करोड १३ लाख ४५ हजार २१५ रहेको महाप्रबन्धक लौडारीले जानकारी दिए ।


पुष्प दुलाल