नेपालका क्यासिनोमा अनलाइन गेम खेल्न पाइने, हारजितको पैसा बैंकिङ प्रणालीबाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका क्यासिनोमा अनलाइन गेम खेल्दाको रकम भुक्तानी बैंकिङ प्रणालीबाट गर्न सकिने ब्यवस्था गरेको छ । पर्यटन विभागले क्यासिनोमा अनलाइन गेम खेल्न पनि अनुमति दिएकोले यस्तो खेलको रकम भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने ब्यवस्था राष्ट्र बैंकले मिलाएको हो ।
पर्यटन विभागबाट केही अनलाइन खेलहरु खेलाउन नेपाली क्यासिनोलाई स्वीकृति दिएकोले त्यस्तो खेलको रकम भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने ब्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले जानकारी दिए ।
‘पर्यटन विभागले नेपालका क्यासिनोहरुलाई केही अनलाइन गेम खेलाउन स्वीकृति दिएको रहेछ, त्यस्ता खेल लेल्नु अघि विदेशी नागरिकले नेपालका बैंकमा विदेशी रकम जम्मा पार्ने र हारेको अबस्थामा सोही रकमबाट काटिने तथा जितेको अबस्थामा सोही बैंकमा जम्मा हुने गरी अनलाइन गेम खेलाउन सकिने ब्यवस्था मिलाइएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाले भने ।
नेपाल राष्ट्र बैंकले यसअघि नै क्यासिनोमा हुने सबै प्रकारका कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याइसकेको छ । तर अनलाइन गेमहरुलाई भने बैंकिङ प्रणालीमा ल्याइएको थिएन । अन्य देशहरुमा अनलाइन गेमको भुक्तानी बैंकिङ प्रणालीबाटै हुने गरेकोले नेपाल राष्ट्र बैंकले पनि यस्तो ब्यवस्था गरेको हो ।
तर, नेपालमा संचालित सबै क्यासिनो सर्बाेच्च अदालतको अन्तरिम आदेशबाट चलेका छन् । नेपालमा संचालित क्यासिनोले सरकारलाई तिर्नुपर्ने रोयल्टी नतिरेकोले यस्तो विषय अदालतमा विचाराधिन नै छ । अनलाइन गेम खेल्नु अघि सम्बन्धित ब्यक्तिले आफ्नो कार्ड मार्फत नेपाली बैंकमा रकम जम्मा पार्नुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।