बीमा कम्पनीमा गाडी दिएर कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धालाई बीमा समितिले रोक्यो, माग्यो विवरण



काठमाडौं । गाडी दिएर कर्मचारी तान्ने बीमा कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धा रोक्न नियामक बीमा समितिले सक्रियता देखाएको छ । समितिले स्थिर समपत्ति किन्दा अनिवार्य आफ्नो स्वीकृति लिन बीमा कम्पनीहरुलाई पत्रपत्र गर्दै नयाँ गाडी किन्न कडाइ गरेको हो ।

‘बीमा कम्पनीहरुबीच गाडी दिएर कर्मचारी तान्ने प्रतिस्पर्धा अत्यन्तै बढी भयो, त्यसैले हामीले नजर लगाएका हौं,’ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्लिकमाण्डूसँग भने ।

प्रमुख कार्यकारी अधिकृत र बिजनेश प्रमोशनका लागि भने गाडी किन्नका लागि समितिले स्वीकृति दिने चापागाईंले बताए ।

‘सीइओ र बिजनेश प्रमोशनका लागि चाहिने गाडीमा हामीले केही भनेका छैनौं, तर एउटै कम्पनीलाई १०/१५ वटा गाडी किन चाहियो ? भन्ने हाम्रो प्रश्न हो,’ उनले भने- ‘कर्मचारीपिच्छे गाडी दिनुभन्दा आवश्यकता अनुसार मिलाएर चढे हुँदैन र ?

समितिले सबै बीमा कम्पनीसँग के कति गाडी छन् भनेर विवरण मागेको चापागाईंले जानकारी दिए ।

समितिका अध्यक्ष चापागाईं

‘हामीले बीमा कम्पनीसँग के कति गाडी छन्, क–कसले गाडी चढ्छन्, लोनमा हो कि कम्पनीले दिएको हो ? भनेर बीमा कम्पनीसँग विवरण मागेका छौं,’ उनले भने ।

गाडीको आवश्यक पर्ने कर्मचारीलाई मात्रै गाडी दिनुपर्ने उनको भनाई थियो ।

‘कुन स्तरको कर्मचारीलाई गाडी दिने भन्ने त कम्पनीहरुले पनि कार्यविधि बनाउनुपर्यो नि,’ उनले भने ।

गाडी आयात बढेका कारण मुलुकको भुक्तानी सन्तुलन ४ महिनामै ५७ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक भएकाले पनि गाडीको आयात रोक्न यस्तो कदम चालिएको उनले सुनाए ।

‘अनावश्यकरुपमा गाडी किनेर मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बनाउनु हुँदैन, सरकारले पनि विदेशी पैसा खर्चमा नियन्त्रण गरिरहेको छ, हामीले पनि सरकारको नीतिलाई सहयोग गरेका हौं,’ उनले भने ।

बीमा कम्पनीका सञ्चालक तथा सीइओहरुलाई बीमा समितिले मौखिकरुपमा गाडी नकिन्न निर्देशन दिएको छ ।

मुलुकको भुक्तानी सन्तुलन बिग्रिएका कारण बीमा समिति आफैंले पनि तत्काल गाडी नकिन्ने नीति लिएको उनले जानकारी दिए ।


पुष्प दुलाल