खोटाङमा सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु




खोटाङ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रम अनुसार विभागबाट खटिएका प्राविधिक टोलीले ढुङ्गा परीक्षण शुरु गरेको नगर प्रमुख इवन राईले बताए ।

‘यो क्षेत्रमा पर्याप्त मात्रामा चुनढुङ्गा रहेको छ, प्राविधिक टोलीले उक्त चुनढुङ्गा सिमेन्ट उद्योग सञ्चालनका लागि उपयुक्त हुने नहुने बारेमा परीक्षण गरिरहेको छ,’ उनले भने ।

ड्रिलिङ मेशिनको प्रयोग गरेर करीब ७५ मिटर तलको ढुङ्गा निकालेर परीक्षण गर्ने काम भइरहेको विभागका उपसचिव नारायण बाँस्कोटाले बताए ।

‘अहिले भूगोल सर्भेक्षण, ढुङ्गा स्याम्पलिङ र छुट्टाछुट्टै चार ठाउँमा ड्रिलिङ गर्ने काम भइरहेको छ, प्रारम्भिक रिपोर्ट अनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा रहेको चुनढुङ्गा उपयुक्त हुने अनुमान गरेका छौं,’ उनले भने ।

मध्यपहाडी लोकमार्गमा पर्ने बोझेओढारको तीन वर्ग्किलोमिटर क्षेत्रफलको ढुङ्गा परीक्षण भइरहेको प्राविधिक टोलीले बताएका छन् । सडकको राम्रो पहुँच रहेको उक्त ठाउँमा सिमेन्ट उद्योग सञ्चालन गर्नसमेत उपयुक्त हुने बताइएको छ ।

अधिकांश सार्वजनिक जग्गामा रहेको उक्त चुनढुङ्गा खानी सिमेन्टका लागि १ नम्बर प्रदेशकै सबैभन्दा उपयुक्त रहेको उपसचिव बाँस्कोटाले बताए । गत मङ्सिर २८ गतेदेखि विभागबाट खटिएको प्राविधिक टोलीले तीन महीनासम्म सोही ठाउँमा रहेर ढुङ्गा परीक्षण गर्ने जनाइएको छ । विभागबाट उपसचिव दिनेशकुमार नापिटको नेतृत्वमा खटिएका नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै पाल टाँगेर बसेको छ ।

तीन महीनासम्मको स्थलगत अध्ययन तथा परीक्षणपछि प्राविधिक टोलीले विभागमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्राविधिकले बुझाएको प्रतिवेदनको आधारमा सिमेन्ट उद्योग सञ्चालनको काम अगाडि बढाइने नगर प्रमुख राईले बताए ।

बोझेओढार लगायत जिल्लाका अधिकांश ठाउँमा रहेको चुनढुङ्गा खानीलाई अधिकतम प्रयोग गरेर उद्योग सञ्चालन गर्न पहल गरिएको सांसद विशाल भट्टराईले बताए । रासस


क्लिकमान्डु