सुझाव कार्यान्वयनले पुँजी बजारमा उत्साह, ३० अंकको बृद्धि, ६९ करोडको कारोबार
काठमाडौं । आर्थिक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या तथा चुनौतिको पहिचान गरी समाधान गर्न अर्थमन्त्रालयले गठन गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदलले दिएको सुझाव कार्यान्वयन हुन थालेपछि पुँजी बजार हौसिएको छ ।
बुधबार पुँजी बजार मापक नेप्से परिसुचक ३०.२६ अंकले बढेर १२१६.२७ विन्दुमा पुगेको छ । यस्तै ६९ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार बुधबार १७३ कम्पनीका १९ लाख भन्दा बढी कित्ता सेयर खरिद विक्री भएका छन् । सो दिन सबै समुहका सुचक बढेका छन् ।
बैंकिङ समुहको सुचक १८.५४ अंकले, ट्रेडिङ समुह १३.६९ अंकले, होटल समुह ६५.६२ अंकले र विकास बैंक समुहको सुचक २०.६९ अंकले बढेका छन् ।
यस्तै जलविद्युत समुहको सुचक १९.३४ अंकले, वित्त कम्पनी समुहको सुचक ८.१२ अंकले, निर्जीबन बीमा समुहको सुचक २४५ अंकले, उत्पादनशील समुहको सुचक १९.२ अंकले, अन्य समुहको सुचक १५.८७ अंकले, लघुवित्त कम्पनी समुहको सुचक ५०.२१ अंकले र जीबन बीमा समुहको सुचक ४४३.५ अंकले बढेका छन् ।
सो दिन नागरिक लगानीकोष, विशाल बजार कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स, मल्टिपर्पाेज फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका सेयरको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
नेपाल बैंक, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक जस्ता कम्पनीको सेयर बढी कारोबार भएको छ । बढेको बजारमा पनि गण्डकी विकास बैंकका लगानीकर्ताले झण्डै ६ प्रतिशत र अरुणभ्याली जलविद्युत कम्पनीका सेयरधनीले साढे ३ प्रतिशतले गुमाएका छन् ।