खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन, मासिक ६ लाखसम्मको कारोवार




बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुङ्खर्कका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय सञ्चालन गरेर बजारमा घर किन्नेदेखि काठमाडौँमा डेरी उद्योग सञ्चालन गर्न सफल भएका छन् ।

विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेका दूध सङ्कलन गरी खुवा घोट्न शुरु गर्नुभएका उनले अहिले तल बजारमा घर किनेर त्यही लालीगुराँस खुवा उद्योग सञ्चालन गरिरहेका छन् ।

“म किसाने मान्छे, कुनै जागिर होइन, आफ्नै व्यवसाय सञ्चालन गरिरहेको छु”, उनले भने, “त्यो बेला पढिन, ल्याप्चे भएँ, तर पनि केही छैन अहिले सिक्दासिक्दै आफ्नो व्यवसायको सबै हरहिसाब आफैँले गर्नसक्छु ।” कुनै पनि पेशामा निरन्तरता दिएपछि केही न केही उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

उनको उद्योगमा एक दिन बिराएर ७० देखि ७५ धार्नीसम्म खुवा उत्पादन हुन्छ । उद्योगमा दैनिक दूध मात्रै चार सय लिटर सङ्लकन हुन्छ । एक धार्नी खुवाको दुई हजारदेखि दुई हजार दुई सयसम्म बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएको खुवा आफ्नो उत्पादन केन्द्रसम्म नै ठेकेदारले लिन आउने गरेको उनको भनाइ छ । बाह्र लाख लगानी गरेर गाउँमा स्थापना गरेको डेरीबाट उत्पादन गरेको खुवा भोटाहिटी, गौशाला, चाबहिल जावलाखेल, लगनखेल, ठिमी, भक्तपुर, कोटेश्वरसम्म जाने गरेको उनको भनाइ छ ।

खुवा आगोले तताएर घोटेर तयार गरिन्छ । त्यसको लागि दिनको पाँच सय किलो दाउरा लाग्छ । प्रतिकिलो दाउराको मोल १५ रहेको छ । उनले खुवा घोट्ने मेसिन साढे दुई लाख तिरेर खरीद गरेको बताए ।

केही समयअघि नेपाल सरकारको तर्फबाट आधुनिक चुलो बनाउने व्यवस्था गरेपछि दश मुखे चुलो बनाएर त्यसमा दश वटा कराइ राखेर दूध घोट्ने गरेको तिमल्सिनाले बताए ।

उनले शुरुमा गाउँमा नै अर्कैले खोलेको दूध डेरीमा क्यान बोकेर काम थालनी गरेको विगत सुनाए । तिमल्सिनाले २०३४ सालमा गाउँमा डेरी स्थापना भएपछि २०३५ सालबाट एक वर्षसम्म गाउँमा नै खुलेको दूध डेरीमा दूधको क्यान बोक्ने काम गरे । २०३६ साल मङ्सिरबाट आफैँले डेरी शुरु गरे ।

“गाउँमा केही काम पाउने थिएन, कि अर्काको ज्याला गर्नु पथ्र्यो कि खेती किसान नै । अरुको डेरीमा गरेको काम छोडेर आफैँले व्यवसाय थालनी गरेपछि त्यसैलाई निरन्तरता दिँदै आएँ, अहिले यतिसम्मको व्यवसाय गर्न सफल भएको छु”, उनले भने, “मैले नपढेकाले छोरालाई पनि पढाउन सकिएन, उनलाई पनि यही पेशामा लगाएर आम्दानीको स्रोत बढाउँदै ल्याएँ र अहिले अर्को पनि व्यवसाय शुरु गरेको छु ।”

त्यही व्यवसाय गरेर अहिले नातिलाई स्नातक र दुई नातिनीलाई कक्षा ११ र १२ मा पढाइरहेको उनले बताए । गाउँमा उनलाई श्रीमती रूपामाई तिमल्सिनाले सघाइरहनु भएको छ । अरु कमाइ गरी खाने पेशा नभएका कारण गाह्रो भए पनि यही पेशालाई अलाग्नु परेको उनको भनाइ छ । “अरु पेशा छैन, जति धुवाँमा बस्नुपरे पनि यही काम हो, त्यसैले यसैमा सन्तुष्ट छु” कृष्णप्रसादका श्रीमती रूपामाईले भनिन् ।

ढुवानी समस्या हुँदा दूध घोटेर खुवा बनाउने बाध्यता भएको बेलामा स्थापना गरेको खुवा उत्पादन केन्द्र अहिले गाउँमा नै गाडी पुगेपनि खुवा उत्पादनको लागि दूध सङ्कलन हुने काम घटेको छैन । उनी भन्छिन्, “बजार आफ्नो पक्षमा पार्न सक्नुप¥यो, अध्ययन गर्नुपर्यो, प्रयास गर्नुप¥यो अर्कोलाई आफ्नो बनाउनुपर्यो ।” जुनसुकै कुरामा सम्पर्क नबढाइ कुनैपनि काम आफ्नो बनाउन नसकिने उनको अनुभव छ ।

उनले आफूले उत्पादन गरेको खुवा शुद्ध र कुनै मिसावट नभएकोले बजारमा बिकेन भनेर फिर्ता आउने अवस्था नआएको बताए । त्यससँगै उनले अहिले पनिर पनि बनाउन थालेका छन् । खुवा र पनिर बनाउन उनले किसानबाट लिटरको एक सय देखि एक सय बीस रुपौयाँसम्म दूधको फ्याट हेरेर खरीद गर्छन् ।

खुवा केन्द्रमा दूध ल्याउन नसकेका टाढाटाढा गाउँका किसानले आफैँले खुवा बनाएर पुर्याउन आउने गरेका छन् । बेथानचोक गाउँपालिका–२ का राजन ढुङ्गानाले डेरी टाढा भएको र दूध बेच्नलाई धेरै हिँड्नु परेकाले घरमा नै खुवा घोटेर एक दिनको अन्तरमा पुर्याउन आउने गरेको बताए ।

“आउन ओह्रालोमा आधा घण्टा पैँतालीस मिनेट लाग्छ, जानलाई उकालो एक घण्टा लाग्छ, त्यसैले घरमा नै घोटेर खुवा बनाएर ल्याउने गरेको हूँ ।’ ढुङ्गानाले भने, “हाम्रो पेशा नै यही हो, त्यसैले आफूलाई कसरी सहज हुन्छ, त्यसरी नै निरन्तरता दिनु परिहाल्यो नि”

खुवा व्यवसाय गरेर बजारमा घर

व्यवसाय गरेर नै उनले गाउँपालिका नजिकै ढुङ्खर्क चारदोबाटो बजारमा घर किनिसकेका छन् । ‘२०७२ सालमा १७ लाखमा घर किनेको हुँ ।’ उनले भने, “पहिलाको घर साविक ढुङ्खर्क गाविस–६ सोरन्ने भन्ने ठाउँमा हो, भूकम्प गएपछि तल बजारमा सरेको हूँ ।”

उनको खुवा उत्पादन केन्द्रमा मासिक पाँचदेखि ६ लाखसम्मको कारोवार हुने गरेको छ । उमेरले ७० वर्ष भएपनि खुवा उत्पादन बाहेक उनले खेती किसानी पनि गर्छन् । “मकै छर्ने, गहुँ खेती गर्ने, भैँसी पालेर खेती किसानको काम सबै गर्छु”उनी भन्छन् । रासस


क्लिकमान्डु