११ महिनामा भित्रिए दश लाख पर्यटक, अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढ्यो
काठमाडौँ । नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महिनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ ।
छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन् ।
पर्यटक आवागमन वृद्धि अहिलेसम्मकै ऐतिहासिक भएको र यसले नेपाली पर्यटनमा थप उत्साह जगाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
“पर्यटकको सङ्ख्या ऐतिहासिक रुपमा वृद्धि भएको छ, यसले सन् २०२० को नेपाल भ्रमण वर्षको लागि ढोका खोलिदिएको छ, पूर्वाधारमा प्रगति भएमा २० लाख पर्यटकको लक्ष्य भेट्न कुनै समस्या हुदैन ।”-उनले बताए,
सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले नेपाल भ्रमण वर्षलाई सफल बनाउने तयारी गरिरहँदा पर्यटक आवागमनको उत्साहजनक वृद्धिले नेपाली पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।