भारु २००, ५०० र २००० नोट नेपालमा बोक्दा जेल जानुपर्ने



काठमाडौं । नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्दा जेल जानुपर्ने भएको छ ।

सरकारले सो दरका नोटहरु नेपालमा बोक्नु गैरकानूनी हुने व्यवस्था लागु गरेको छ । मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले सो निर्णय गरेको सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालमा भारतीय १०० दरको नोटमात्र बोक्न पाइन्छ,अन्य दरका नोट नपाइने भएको हुँदा यो निर्णय गरिएको हो,’बास्कोटाले मन्त्रीपरिषद्को बैठकको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भने ।

यसभन्दा अगाडि ५०० र १००० दरका नोट बोक्न नेपालमा प्रतिबन्ध थियो । कतिपय व्यक्तिले यही नोट बोकेको आरोपमा जेल समेत जानु परेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउदा ५०० र १००० दरको नोट बोक्न दिने निर्णय भएको थियो ।

तर,नरेन्द्र मोदीले ५०० र १००० दरको नोट प्रतिबन्ध लगाएपछि नेपालमा रहेको नोट भने साटिएको थिएन ।

भारत सरकारले अहिले २००,५०० र २००० को दरको नोट प्रचलनमा ल्याएको छ । नेपालको व्यापार भारतसँग हुने र बैदेशिक रोजगारीमा जाने नेपालीले सो दरका नोट बोक्ने गर्छन् ।


क्लिकमान्डु