४ महिनामा ९ अर्बको तरकारी आयात, गतवर्ष भन्दा २ अर्बले बढ्यो



काठमाडौं । कृषिप्रधान देश नेपालमा दैनिक प्रयोग हुने तरकारी आयात वर्षेनी बढ्दो क्रममा रहेको छ ।

तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा ९ अर्ब ४० करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ । यो चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा झण्डै २ अर्ब रुपैयाँ बढीको तरकारी आयात बढेको छ ।

चालु आर्थिक वर्षको चौमासिकमा गत चालु आर्थिक वर्षको चौमासिकको तुलना गर्दा १ अर्ब ९९ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरले तरकारी आयात बढेको देखिन्छ ।

गत वर्षको ४ महिनामा ७ अर्ब ४० करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष कूल २२ अर्ब ६७ करोड ०२ लाख ३५ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।

२०७३\७४ सालमा २१ अर्ब ५४ करोड ०५ लाख ८८ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपाली बजारमा थाइल्याण्ड, इटाली, अष्ट्रेलिया, भारत, चीन लगायतका राष्ट्रहरुबाट ठूलो मात्रामा तरकारी आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

कालिमाटीमा ८१ हजार मेट्रिकटन तरकारी तथा फलफूल भित्रिए
चालु आर्थिक वर्षको ४ महिनामा ८१ हजार ६ सय ७० मेट्रिकटन तरकारी तथा फलफूलहरु कालिमाटी बजारमा भित्रिएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

यो सामान मध्ये ४०.७९ प्रतिशत भारतबाट आयात हुने गरेको छ भने चीनको ०.२४ प्रतिशत आयात हुने गरेको श्रेष्ठले जानकारी दिए । यस्तै नेपालमै उत्पादन हुनेमा मकवानपुरको ५९ प्रतिशत तरकारी तथा फलफूल कालिमाटीमा भित्रिने गरेको उनले बताए ।

गत वर्षको ४ महिनामा ७१ हजार १ सय ६१ मेट्रिकटन तरकारी तथा फलफूल आयात हुने गरेको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार गत वर्ष २ लाख २५ हजार मेट्रिकटन तरकारी तथा फलफुल तरकारी बजारमा भित्रिएको थियो । ती मध्ये २० करोड ९१ लाख १७ हजार २ सय ४० केजी तरकारी मात्र भित्रिएको उनले जानकारी दिए ।

२०७३\७४ सालमा ५० हजार मेट्रिक टन तरकारी तथा फलफुल कालिमाटी बजारमा भित्रिएको थियो ।


क्लिकमान्डु