अर्थमन्त्री खतिवडाले भने-राजनीतिमा कहिले काँही राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्नु पर्ने रहेछ



काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजनीतिमा कहिले काँही राम्रोलाईपनि नराम्रो र नराम्रोलाईपनि राम्रो भन्नु पर्ने अवस्था आउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को चौथो महासभालाई आज संबोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले भने- म ढिलो ढिलै सक्रिय राजनीतिमा आएको हुँ, त्यसैले ढिलो ढिलो गरी नै राजनीति बुझ्दैछु ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका डा. खतिवडाले आर्थिक पत्रकार माझ भने- पत्रकारहरुले प्रतिपक्षी दलको जस्तै भूमिका खेल्नु हुँदैन ।

उनले पत्रकारहरुलाई भने-तपाईँहरुले सरकारको गल्ती औल्याउँनुस्, हामी सुधार गर्न तयार छौं, तर तपाईँहरु आफैँले चाँही गल्ती नगर्नुस् । पत्रकारहरुले आलोचनात्मक र विश्लेषणात्मक हिसाबले सरकारलाई सहयाग गर्न उनले अनुरोध गरेका थिए ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए । उनले भने- “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारलेपनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।”

अर्थमन्त्री डा खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गरे ।

उनले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले सदैव सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

महासभामा महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टङ्कमणि शर्माले आर्थिक विकासको मुद्दालाई उठान गरेर तथ्यमा आधारित समाचार सम्प्रेशन गर्न आर्थिक पत्रकारलाई सुझाव दिए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक पत्रकारले मुलुकको विकासका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए । उनले भने-अब आर्थिक पत्रकारहरुले उद्योग, रोजगारी र समृद्धिका क्षेत्रमा कलम चलाउनु पर्छ ।

हाम्रो देशको परिस्थिति अनुसार कलकारखाना चलाउनै नसक्ने, नेपाली उद्योगहरु उत्पादन गर्नै नसक्ने अवस्थामा छन् यसबारेमा आर्थिक पत्रकारहरुको ध्यान जाओस्–उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

महासभा आयोजक समितिका संयोजक इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल पुननिर्माण लिमिटेडका महेश गुरागाईँ, घरेलु तथा साना उद्योग महासंघका मोहन कटवाल, नेपाल बिज्ञापन संघका अध्यक्ष रबिन्द्र अर्याल, ट्राभल एण्ड ट्रेकिङ संघका खुमबहादुर सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।


क्लिकमान्डु