३ खर्ब १७ अर्ब भारुमा बिक्यो हर्लिक्सको स्वामित्व, हिन्दुस्तान लिभरले किन्ने



हिन्दुस्तान लिभर कम्पनीले ३ खर्ब १७ अर्ब भारतीय रुपैयाँ खर्च गरेर हर्लिक्स उत्पादन गर्ने कम्पनी ग्लैक्सो स्मिथ क्लाइन (जिएसके)लाई खरिद गर्ने भएको छ ।

भारतीय कम्जुमर गुड्स बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापारिक डिल भएको समाचार भारतीय संचारमाध्यमले प्रकाशित गरेका छन् ।

हिन्दुस्तान लिभर कम्पनीले ३ खर्ब १७ अर्ब भारतीय रुपैयाँ खर्च गरेर हर्लिक्सलाई आफ्नो बनाउन लागेको हो । यो भनेको नेपाली रुपैयाँमा परिवर्तन गर्दा ५ खर्ब ७ अर्ब रुपैयाँ हुन्छ । यो रकम नेपाल सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटको करिब ४० प्रतिशत रकम हो ।

यो सम्झौता एक प्रकारको इक्विटी मर्जर हो । जसको लागि जिएसकेको एक कित्ता सेयर बराबर हिन्दुस्तान लिभरको ४.३९ कित्ता सेयर स्वाप रेसियो कायम गरिएको छ ।

यो डिलले युनिलिभरलाई भारतमा टिक्न र आफ्नो व्यवसाय बढाउनको लागि मद्दत पुग्ने छ ।

हिन्दुस्तान लिभरका अध्यक्ष सन्जिव मेहताले भने,‘जिएसकेसीएच इन्डियालाई रणनीतिक रुपमा गाभेपछि हामी हाम्रो प्रोटफोलियो र नयाँ उत्पादन लिएर बजारमा आउने छौ,ग्राहकको पोषण सम्बन्धी आवश्यक्ता पुरा हुने तथा कम्पनीको व्यवसाय १ खर्र्ब भारतीय रुपैयाँले बढ्ने छ।’

हर्लिक्स पहिलो विश्वयुद्दको समाप्तीपछि ब्रिटिस आर्मीसँगै भारतमा भित्रिएको थियो । ब्रिटिस आर्मीले यसलाई शक्ति बढाउने उत्पादनको रुपमा प्रयोग गर्ने गरेका थिए । पछि यो बालबालिकाको आहार तथा पोषणको लागि प्रख्यात बन्यो ।


क्लिकमान्डु